काठमाडौं कार्तिक ०१ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा स्थानीय तहसँगै प्रदेश र प्रतिनिधि सभाको पनि चुनाव गर्ने मुडमा पुगेका छन्।
नेपाली कांग्रेसको महाधिवेशन सरेको खण्डमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभामा संकल्प प्रस्ताव पारित गर्दै तीनै तहको चुनाव एकै पटकमा गर्ने तयारी भएको उच्च स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा पनि उक्त प्रस्ताव लैजाने तयारी गरेको बताइएको छ। तीनै तहको चुनाव एक साथ गर्नका लागि संसदमा संकल्प प्रस्ताव पारित गराउने र त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति खोज्ने तयारी भएको छ।
एमालेले सदन अवरोध गरिरहेको छ। प्रधानमन्त्री देउवाले सदनको अवरोध फुकाउने र तीनै तहको चुनाव एकसाथ गर्ने संकल्प प्रस्ताव सर्वसम्मतले पारित गराउनका लागि ओलीसँग सहमति खोज्ने प्रयत्न गरेका हुन्।
‘गठबन्धनमा छलफल चलेर सहमति भएको खण्डमा उक्त प्रस्ताव लिएर प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष ओली भेट्न पठाउने तयारी छ’, बालुवाटार स्रोतले भन्यो,‘कांग्रेसको महाधिवेशन सार्ने तयारी पनि भएको छ।’ अनलाईन न्युजवाट