भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अदि कैलाश पर्वतको दर्शन गरेका छन् । यस क्रममा उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने कार्यक्रम छ । नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदीले कैलाश पर्वत र पार्वती सरोवरको दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँ गुञ्जी, नाभि, कुटी, रोङकाङ, नपलच्यु गर्ब्याङ र बुदीको भ्रमण गरेको जनाइएको छ ।
त्यहाँका ३० जना स्थानीयवासीसँग मोदीले भेटघाट र छलफल समेत गरेका छन् । यस विषयमा नेपाली पक्ष अनभिज्ञ देखिएको छ । मोदीले त्यहाँ भारतीय सेना, आइटीवीपी, एसएसबी र सुरक्षा अधिकारीहरूसँग भेटघाट र फोटो सेसन गर्ने कार्यक्रम तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी मध्यान्ह १२ बजे अल्मोडाको जागेश्वर धामको दर्शन र पूजापाठ गरेका छ्न ।
दिउँसो साढे २ बजे पिथौरागढमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी बिहीबार दिनभरि प्रधानमन्त्री मोदीसँगै भ्रमणमा रहनेछन् ।
नेपालको चुच्चे नक्सामा समेटिएको सो क्षेत्रमा हुने मोदीको भ्रमणका विषयमा नेपालमा कुनै चर्चा छैन । सरकारी निकाय, राजनीतिक दल र सामाजिक सञ्जाल प्रयोगकर्ता समेत यो बारे बेखवर जस्तै छन् । नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा नेपाली प्रशासनलाई कुनै आधिकारिक जानकारी नगराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भन्ने हल्ला मात्रै सुनुको र आधिकारिक कुनै जानकारी नरहेको बताइन् ।
