दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका–४ पोक्सेमा कार्तिक २० गतेबाट संचालन गरिएको प्रथम प्रविन कमला वडास्तरीय महिला, पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।
‘खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो᾽ भन्ने मुल नाराका साथ दिपज्योति संघर्ष समाज पोक्सेले शुभदिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगिताको उपाधी पुरुषतर्फ मालिकार्जुन गाउँपालिकाको मालिकार्जुन तथा महिलातर्फ नौगाड गाउँपालिकाको लक्सेरी टिमले हात पारेको छ । प्रतियोगितामा महिलातर्फ ब्याँस गाउँपालिकाको डोकट टिम र पुरुषतर्फ ब्याँसकै गोरखनाथ टिम उपविजेता बनेको पत्रकार प्रेमराज जोशीले जानकारी दिए ।
यो संगै महिलातर्फको टिमले प्रथम पुरुस्कार स्वरुप नगद १८ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन, भने पुरुषतर्फको टिमले नगद ६५ हजार तथा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपविजेता महिलातर्फको टिमले नगद १० हजार ट्रफी मेडल, प्रमाणपत्र तथा पुरुषतर्फको टिमले नगद ३१ हजार १११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेक छ । प्रतियेगितामा बेष्ट इस्पाइकर, बेष्ट डिफेन्स, र अनुसाशित खेलाडीलाई समान १÷१ हजार रुपैयाँ प्रदान गरिएको बताइएको छ ।
गत बैशाख २१ गते दार्चुलाको ब्याँस गाउँपालिका वडा–१ छाङरुस्थित भोलीन बनमा हिम पहिरोमा परी मृत्यु भएका आमा छोरा दुुहुँ गाउँपालिका वडा ४ का कमला कुँवर र प्रवीण कुँवरको सम्झनामा पहिलो पटक महिला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको खेलकुद संयोजक राजेन्द्र सिह कार्कीले जानकारी दिए । प्रतियोगितामा ४२ टिम पुरुष र १० टिम महिलाहरुको सहभागीता रहेको थियो ।
