शान्ती प्रसाद जोशी धनगढी- कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव २२ गते भाेलि शुक्रबारदेखि सुरु हुँदैछ ।
आगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७औँ संस्करण सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी आउने र शुक्रबार साँझनै काठमाडौँ फर्किने अध्यक्ष कुँवरले बताए ।

व्यावसायिक कृषि प्रदर्शनी, उद्योग व्यापारको प्रवर्द्धन तथा कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका लागि आयोजना हुने महोत्सवमा लगभग ४०० ओटा स्टल रहने र करिब ५ लाख जनाले अवलोकन गर्दा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको अध्यक्ष कुँवरले बताए ।
