इजरायल । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा युद्धविराम नहुने प्रतिक्रिया दिएका छन् ।
बुधबार विज्ञप्ति निकालेर उनले निर्धारित सबै उद्देश्य हासिल नभएसम्म युद्ध जारी राख्ने बताएका हुन्। ‘हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो’, उनले भनेका छन्।
गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो ।
सदस्य राष्ट्रहरूबीच शब्दहरूलाई लिएर भएको खिचातानीले पछिल्ला दुई मतदानमा ढिलाइ भएकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा पनि युद्ध रोक्ने प्रस्तावमाथि बुधबार मतदानको तयारी गरिएको कूटनीतिक सूत्रहरूले एएफपीलाई बताएका छन् ।
प्रधानमन्त्री नेतान्याहुले इजराइली सेनाले गाजामा ‘प्रत्येक स्थान’ मा हमासमाथि आक्रमण गरिरहेको बताए। ‘कसैले हामी रोकिने छौँ भनेर सोचेको छ भने ऊ वास्तविकतासँग जोडिएको छैन’, उनले भनेका छन्, ‘हामीले हमासमाथि आगो वर्षाएका छौँ। हामीले उसका निकट र टाढाका साथीहरूमाथि पनि हमला गरिरहेका छौँ।’
