धनगढी: ललितपुरको बालकुमारीमा आज प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। सोही झडपमा परि आन्दोलनकारी तर्फका दुई जनाको मृत्यु भएको थियो।
सो घटनाको बारेमा धरानका मेयर हर्क साम्पाङले आफ्नो फेसबुक वालमा भावुक स्टाटस राखेका छन्।
विभिन्न विषयमा दरो र खरो बोल्दै चर्चामा आइरहने मेयर साम्पाङ नेता र नियम विरुद्ध नै नडराइकन बोल्ने गर्दछन्। उनले आजको घटनामा पनि भावुक हुँदै स्टाटस लेखेका छन्।

उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यसो लेखेका हुन्। “छोराको उमेरको तिम्लाई म के भनूँ ? अल्विदा भनूँ त मन मान्दैन ! नभन्नूं त विदा नलिई गई हाल्यौ ! यो नियती तिम्रो मात्रै कहाँ हो र ? यो त नेपालीहरुको नियती हो ! यो धर्तीमा अब हाम्रो भेट हुन सक्दैन ! सायद स्वर्ग भन्ने कल्पना कतै अस्तित्वमा छ भने भेट हुनेछ हाम्रो, त्यति खेर “अंकल” भनेर बोलाउनु है बाबू ! तिमी जस्तैहरु विदेशिन नपरोस् भनेर एउटा सानो पदमा रहेर पनि मैले ठुलठुला बहस छेड्न चाहेको छु ! अनेकन बाधा अड्चन र विरोधका बाबजुद कराउन छोडेको छैन मैले ! चेतनाले वेथितिको विरोध गर्दैन भने बाँच्नुको अर्थ के नै छ र टाउकोको भारी बोकेर ??? के लेखूँ र खोइ यो भन्दा धेरै ! तिमी एउटा सहिद हौ हररात सपनीमा आएर मलाई झस्काउँदै गर ! म कराइरहनेछु तिम्रा कथा र व्यथा बोकेर चिच्याइरहनेछु !“
