धनगढी: धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८० मा नायक पल शाहको ब्रासलेट हराएको विषयले निकै चर्चा पायो। स्थानीयदेखि राष्ट्रियस्तरका मिडियाहरूले ब्रासलेट हराएको समाचार प्राथमिकताका साथ प्रकाशित गरे।

मंसिर ३० गते (शनिबार) महोत्सवमा प्रस्तुति दिने क्रममा उनको करिब ३ तोला सुनको ब्रासलेट हराएको दाबी गरियो। तर त्यो दाबी अहिले आएर ‘अफवाह’ मात्रै भएको खुलेको छ। प्रहरी स्रोतका अनुसार पल शाहको ब्रासलेट नहराएको बुझिएको छ।

प्रस्तुतिका क्रममा उनकै फ्यानहरूले हात तानेर ब्रासलेट खोसेको दाबी गरिएको थियो। तर, उनको ब्रासलेट फ्यानले नतानेको र दर्शकसँग हात मिलाउँदा खसेको महोत्सवको सुरक्षार्थ खटिएका प्रहरीले देखेका थिए। लगत्तै दर्शनले त्यो ब्रासलेट मञ्चमा दिएको प्रहरीको भनाइ छ।

ड्युटीमा खटिएका प्रहरीलाई उदृत गर्दै विश्वस्त प्रहरी स्रोतका अनुसार त्यो ब्रासलेट मञ्चमै रहेका आयोजकको हातमा परेको थियो। सस्तो लोकप्रियता कमाउनका लागि ब्रासलेट हराएको स्टन्टबाजी गरिएको धेरैको टिप्पणी छ।

यस विषयमा आयोजना कैलाली उद्योग वाणिज्य संघले भने खासै प्रतिक्रिया दिन मानेको थिएन। हामीले संघका प्रवक्ता मिलन कुँवरलाई बुझेका थियौँ। उनले अभिनेता शाहले ब्रासलेट हराएकोमा कुनै दुःख व्यक्त नगरेको बताए। प्रवक्ता कुँवर महोत्सवमा सांस्कृतिक संयोजक थिए।

उनले ब्रासलेट हराएको/नहराएकोबारेमा पनि खासै खुलाउन चाहेनन्। ‘पल शाहले यसमा दु:ख मानेको छैन। यो विषय छोडिदिनुहोस्। तपाईंलाई समाचार बनाउने मनै छ भने त बनाउनुहोस्। नत्र यो विषय छोडिदिँदा नै राम्रो हुन्छ,’ उनले भने, ‘पल शाहले पनि यो विषय छोडिदिनुहोस् भनेका छन्। त्यसैले यस विषयमा चर्चा नगरौं होला।’ यसबाट पनि पलको ब्रासलेट नहराएको बुझ्न सकिन्छ।

आयोजना कैलाली उद्योग वाणिज्य संघले पल आएको दिन शनिबार एक लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको दाबी गरेको थियो। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा महोत्सव मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन भएको थियो।

                                सभार : नयाँ सन्देश 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय