दार्चुला । सशस्त्र प्रहरीले संचालन गरेको जिल्ला स्तरीय खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका शिव बहादुर सिंह र ज्ञानेन्द्र बहादुर सिंहको जोडीले जितेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको ब्याडमिन्टन कोर्टमा भएको फाइनल खेलमा सशस्त्र प्रहरीका सहायक हवल्दार टिकेन्द्र सिंह धामी र सशस्त्र प्रहरी जवान कमल सिंह ठगुन्नाको जोडीलाई हराउँदै नेपाल प्रहरीका डीएसपी शिव बहादुर सिंह र इन्स्पेक्टर ज्ञानेन्द्र बहादुर सिंहको जोडीले उपाधि जितेको हो ।

प्रतियोगितामा सशस्त्र प्रहरीका सहायक हवल्दार टिकेन्द्र सिंह धामी र सशस्त्र प्रहरी जवान कमल सिंह ठगुन्नाको जोडी उपविजेता बन्यो । यस्तै सशस्त्र प्रहरी हवल्दार ईन्द्रराज जोशी र सहायक हवल्दार रुपेश बहादुर सिंहको जोडीले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगतामा प्रथम हुने जोडीले नगद १० हजार ५ सय साथमा मेडल र प्रमाणपत्र, द्वितीय हुनेले नगद ६ हजार ५ सय, मेडल र प्रमाणपत्र र तृतिय हुने टोलीले नगद ३ हजार ५ सयको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता टीमलाई सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा मंगलवार गणमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले पुरस्कृत गरेका हुन् ।
जिल्लास्तरीय खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीका १०, सशस्त्र प्रहरीका ७, नेपाली सेनाको १ र अन्य १४ टोली गरी जम्मा ३२ टोलीको सहभागिता रहेको थियो ।

यसैबीच सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरमा संचालन भएको आन्तरिक ब्याडमिन्टन प्रतियोगितामा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक गोकर्ण धामी र सहायक हवल्दार मोहन सिंह भण्डारीको जोडी विजेता बनेको छ । भने सशस्त्र प्रहरी नायव उपरीक्षक गजेन्द्र चन्द र सशस्त्र प्रहरी जवान राकेश सिंह धामीको जोडी उपविजेता भएको हो । आन्तरिक ब्याडमिन्टन प्रतियोगितामा ४ टीम सहभागिता रहेको थियो ।
यस्तै आन्तरिक टेबल टेनिसमा सशस्त्र प्रहरी हवल्दार ईन्द्र राज जोशी र सहायक हवल्दार योगेन्द्र बहादुर खड्काको जोडी प्रथम भएको छ । यस्तै सशस्त्र प्रहरी निरीक्षक समीर भट्ट र नायव निरीक्षक बीर सिंह नगारीको जोडी द्धितीय तथा सशस्त्र प्रहरी बरिष्ट नायव निरीक्षक गोकर्ण धामी र सशस्त्र प्रहरी जवान महेन्द्र कार्कीको जोडी तृतीय भएको छ । आन्तरिक टेबल टेनिस प्रतियोगितामा १४ टीमको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले माघ ६ गतेदेखि ९ गतेसम्म यी प्रतियोगिता संचालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय