दार्चुला । विगत १८ वर्ष देखि दार्चुला जिल्लामा संचालनमा रहेको केदारनाथ बचत तथा ऋण सहकारी संस्थाले दुहुँ र ब्याँस गाउँपालिकाका सेयर सदस्य तथा कृषकलाई बाख्रा खरिद गर्न सहुलियतपुर्ण कर्जा उपलब्ध गराएको छ ।

सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष धनगढी कैलालीबाट सहकारीलाई प्राप्त थोक कर्जाबाट उनिहरुलाई बाख्रा खरिदका लागि सहुलियतपुर्ण कर्जा उपलब्ध गराएको संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले जानकारी दिए ।

प्रदेश सरकारले बाख्रा पाल्न तथा कृषकलाई बाख्रापालन पेशामा जोड्न र आत्मनिर्भर बनाउन सहुलियत पुर्णकर्जा उपलब्ध गराएको हो । सहुलियतपुर्ण कर्जा लाभग्राहीबाट ब्याज र किस्ता असुल गर्ने तथा कार्यक्रमको अनुगमन गर्ने जिम्मेवारी सहकारीको हुने बताइएको छ ।

कृषकले दुई किस्ता मार्फत सहकारीबाट जम्मा ३ लाख रुपैया प्राप्त गर्नेछन् । कृषकले १ लाख ५० हजार आज प्राप्त गरेका छन, भने सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष धनगढीबाट सहकारीलाई अर्को किस्ता प्राप्त हुने वित्तिकै दोस्रो किस्ता प्राप्त गर्ने प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए ।

कृषकले ३ लाखमा १२ वटा बाख्रा खरिद गर्नुपर्ने बताइएको छ । केदारनाथ बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्य तथा कृषकहरुलाई बुधबार एक कार्यक्रमका बिच जिल्ला सदरमुकाम खलंगामा सहुलियतपुर्ण कर्जाको चेक हस्तान्त्रण गरिएको छ ।

जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि महादेव बडू (कश्यप) ले उनिहरुलाई चेक हस्तान्त्रण गर्नु भएको हो । चेक हस्तान्त्रण गर्नुहुँदै समन्वय प्रमुख बडूले सानो–सानो रोजगारबाट नै विदेशीनु पर्ने कुराको अन्त्य हुने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले सहकारी मार्फत आत्मनिर्भर बनाउन उपलब्ध गराएको सहुलियतपुर्ण कर्जाको सहि सदुपयोग गर्न पनि उहाँले कृषकलाई आग्रह गर्नुभएको छ ।

सहकारीका सेयर सदस्य दुहुँ गाउँपालिकाका–५ का लाल बहादुर कुवर, करन सिंह महरा, बिमला कुवर, वडा नम्बर ४ का लोक बहादुर बम, जयन्ती पाल बम, वडा नम्बर ३ का मनोरथ जोशी, वडा नम्बर २ का नरेन्द्र सिंह बडाल, हरक सिंह बडाल र ब्याँस गाउँपालिका–६ का कमला भट्ट बडू र वडा नम्बर ४ का गौरी महरा खत्रीलाई सहुलियतपुर्ण कर्जाको चेक हस्तान्त्रण गरिएको छ । लाभग्राही तथा सेयर सदस्यले उक्त कर्जाको वार्षिक ५ प्रतिशतका दरले ब्याज बुझाउनु पर्ने बताइएको छ । ५ वर्ष सम्म लाभग्राहीले यो रकम चुक्ता गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय