
दार्चुला कात्तिक १२ । जिल्लाका ४ सय ८६ जना बालबालिकाहरुमा हात्ती पाइले रोगको संक्रमण भए नभएको बारे पत्ता लगाउन रक्त संकलन गरिने भएको छ । १–३ कक्षामा अध्ययनरत १६ विद्यालयका बालबालिकाहरुमा हात्ती पाइले रोगको संक्रमण भए नभएको पत्ता लगाउन रत्त संकलन गरिने किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरले जनाएको छ । केन्द्रले जिल्ला सदरमुकाम खलंगामा आज आयोजना गरेको राष्ट्रिय हात्ती पाइले रोग निवारण सम्बन्धी टास सर्वे कार्यक्रमको जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठीमा जानकारी दिइएको हो । लगातार ५ वर्ष सम्म हात्ती पाइले रोग विरुद्धको औषधी वितरण गरेका जिल्ला मध्ये दार्चुला जिल्ला पनि रहेको अवस्थामा रोग निवारण भए नभएको जानकारी लिन दोस्रो पटक रक्त संकलन गरी परिक्षण गरिने जनाइएको छ ।
दार्चुलामा सन २०१३ देखी २०१८ सम्म हात्ती पाइले रोग विरुद्धको औषधी वितरण गरिएको थियो । सन २०१८ पछि जन्मेका बालबालिकाहरुमा रोगको संक्रमण भए नभएको पत्ता लगाउन उनिहरुको रक्त संकलन गर्ने केन्द्रले जनाएको छ । सन २०१७ मा औषधीको प्रभाव भए नभएको बारे पत्ता लगाउन गरिएको परिक्षण दार्चुला जिल्ला पास भएको थियो ।
पुरै जिल्ला हात्ती पाइले रोग निवारण भएको जिल्ला घोषणा गर्न दार्चुला, बैतडी र बझाङमा दोस्रो पटक परिक्षण गरिने केन्द्रका डा।कुमार प्रसाद पोखरेलले बताउनुभयो । राष्ट्रिय हात्ती पाइले रोग निवारण सम्बन्धी टास सर्वे कार्यक्रम अन्तरगत जिल्लामा अगामी मंसिरको दोस्रो साता देखी सर्वे गरिने उहाले जानकारी दिनुभयो । नेपालमा उचेरिया ब्यांगक्र्याप्टी नामक किटाणुले हात्ती पाइले गराउने गरेको भेट्टीएको छ । जिल्लाका ६ र ७ वर्ष उमेर समुहका बालबालिकाहरुमा हात्ती पाइले रोग भए नभएको पत्ता लगाइने बताइएको छ । सिम्पल ब्लीडर नामक सप्टवयरले छनौट गरेका विद्यालयहरुका बालबालिकाहरुमा परिक्षण गरिने छ । दार्चुलाको ब्याँस गाउँपालिकामा रहेको ब्रहमस्थान आधारभुत विद्यालय, दुहुँ गाउँपालिकामा रहेको गणेश मावि सिमली, महाकाली नगरपालिकामा रहेका सरस्वती आधारभुत विद्यालय श्रीबगर, मालिकार्जुन मावि धाप र दार्चुला पब्लिक स्कुलका बालबालिकाहरुमा परिक्षण गरिने जनाइएको छ ।
यस्तै मालिकार्जुन गाउँपालिकामा रहेको हुनैनाथ आधारभुत विद्यालय, सरस्वती मावि उकु, लेकम गाउँपालिकामा रहेको सारदा आधारभुत विद्यालय, मालिकार्जुन आधारभुत विद्यालय, शैल्यशिखर नगरपालिकामा रहेका जगन्नाथ आधारभुत विद्यालय र लटिनाथ प्राविका बालबालिकाहरुमा परिक्षण गरिने उहाले बताउनुभयो । यसैगरी नौगाड गाउँपालिकामा रहेका मालिकार्जुन आधारभुत विद्यालय र मालिकार्जुन प्रावि, मार्मा गाउँपालिकामा रहेका विशेश्वर प्रावि र लोर्डहिल प्रावि तथा अपिहिमाल गाउँपालिकामा रहेको तामाखानी आधारभुत विद्यालयका बालबालिकाहरुमा हात्ती पाइले भए नभएको बारे जानकारी लिन रक्त संकलन गरी परिक्षण गरिने जनाइएको छ । D.Fm