दार्चुला कात्तिक १६ । दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई सोसल भोलेन्टियर्स ग्रुप दार्चुलाले राहत वितरण गरेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न दातृ निकाय तथा व्यक्तिहरुबाट संकलित आर्थिक सहयोग बापतको खाद्यान्न तथा गैरखाद्य सामग्री मंगलबार पीडित परिवारलाई वितरण गरिएको सोसल भोलेन्टियर्स ग्रुपका संयोजक एवं अधिवक्ता कृष्णबहादुर महराले जानकारी दिए । राहतमा खाद्यान्न र लुगा कपडा वितरण गरिएको हो । गत भदौ १३ गते अविरल वर्षासँगै दुहुँका विभिन्न क्षेत्रमा बाढी पहिरो आएको थियो । जसका कारण ४६ ओटा पूर्ण घर क्षति भएका र १ सय ५८ ओटा आंशिक क्षति तथा उच्च जोखिममा रहेका परिवारलाई राहत वितरण गरिएको संयोजक महराले बताए ।
पीडितहरुको राहतका लागि ग्रुपले २ सय ४ जना पीडितको सूचि तयार पारेर वितरण गरेको उनले बताए । दुहुँमा बाढीपहिरोले वितण्डा मच्चाएपछि सोसल भोलेन्टियर्स ग्रुपले सामाजिक संजालमार्फत देश तथा विदेशमा रहेका नागरिकहरुबाट सहयोगको अपिल गरेको थियो । जसमा ७० जनाले राहत रकम जम्मा गरेका थिए । उक्त संकलित रकमबाट पीडित परिवारका लागि खाद्यान्न र लुगाकपडा वितरण गरिएको उनले बताए ।
राहत वितरण कार्यक्रम सोसल भोलिन्टियर्स ग्रुप दार्चुलाका संयोजक एवं अधिवक्ता कृष्ण बहादुर महराको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको प्रमुख आतिथ्यतामा भएको हो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट, सशस्त्र प्रहरी सीमा सुरक्षा बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका प्रहरी नायव उपरीक्षक बीरसिह धामी, नेपाल राष्ट्रिय अनुसन्धान विभाग दार्चुलाका अनुसन्धान अधिकृत महेश प्रसाद अवस्थी, नेपाल रेडक्रम सोसाइटी दार्चुलाका मन्त्री दिपक प्रसाद अवस्थी लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।