दार्चुला कात्तिक २१ । ब्याँस गाउँपािलकाको छायाँलेकमा रहेको नेपाल प्रहरी चिसो छल्न छांगरु झरेपछि चीनसँग सिमा जोडीएको नाका सुरक्षा विहिन वन्न पुगेको छ । कात्तिक पहिलो साता भएको मनसुनी वर्षा सँगैको हिमपातका कारण चिसो भएपछि छाया लेक स्थित प्रहरीचौकी छांगरु झरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
हिमपातका कारण अत्यधिक चिसो बढेर पानीसमेत पाईपमै जमेर खान नसकिने अवस्था भएपछि प्रहरी छांगरुमा बसेको वताईएको छ । अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् । तिंकरमा रहेको प्रहरी चौकी जाडोयाममा वर्षेनी नजिकका अन्य युनिटमा सर्ने गरेको छ । अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन निर्माणको काम भएको छ ।
तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को भवन यस वर्ष निर्माण भएको छ तर सशस्त्र प्रहरीले बस्न सुरु गरेको छैन । चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन सुविधा सम्पन्न नहुँदा सुरक्षाकर्मीहरुलाई बाह्रैमास बस्न अप्ठ्यारो हुने गरेको छ । छांगरुमा सशस्त्र प्रहरीको ५० नम्बर गुल्म स्थापना छ ।
गुल्मका लागि गत वर्षबाट भवन निर्माण सुरु भए पनि अधुरै अवस्थामा रहेको छ । सशस्त्रले अहिले भाडाको घरमा बसेर काम गर्दै आइरहेको छ । यहाँका स्थानीयवासी छ महिना चिसो छल्न सदरमुकाम खलङ्गा र छ महिना गर्मी छल्न व्यासको छांगरु तिंकर उक्लिने गर्छन् । उनीहरू नेपालतिर आउन बाटो नभएपछि हरेक पटक भारतीय बाटो हुँदै बसाइँसराइ गर्ने गरेका छन् ।