काठमाडौं- नेकपा एमालेसँग भएको समझदारीबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुलाई जानकारी गराएका छन् । मंगलबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले उक्त बिषयको जानकारी गराएका हुन् ।
गएरातिदेखि नै पहिलो कार्यकाल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने र त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको स्रोतहरुले बताएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थीरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको बैठकपछि जानकारी गराए। उनले सरकारलाई राष्ट्रिय सहमतिको बनाउने र इच्छुक दलहरुलाई सरकारमा सामेल गर्ने बताए ।
अहिलेसम्मको समीक्षाबाट र अनुभवबाट राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन पनि सँगसँगै अघि बढाउने कांग्रेस प्रवक्ता महतले बताए ।
बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नयाँ सरकार बन्ने बताए ।
देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने समेत जानकारी गराएका थिए ।
