दार्चुला- दार्चुला जिल्लामा १ सय २८ जना क्षयरोगका बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षमा जिल्लाका १ सय २८ जना क्षयरोगी फेला परेका हुन् । स्वास्थ्य कार्यालय दार्चुलाले शुक्रवार आयोजना गरेको पत्रकार तथा अन्य स्वास्थ्य संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार दार्चुलाका ९ वटै स्थानीय तहमा क्षयरोगका बिरामी फेला परेका छन् ।

सबैभन्दा बढी जिल्लाको महाकाली नगरपालिकामा फेला परेका छन् । महाकाली नगरपालिकामा ५७ जना क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर बिरेन्द्र भट्टले जानकारी दिए ।

यस्तै नौगाड गाउँपालिकामा १५ जना, मार्मा गाउँपालिकामा १४ जना, दुहुँ गाउँपालिकामा १३ जना, ब्याँस गाउँपालिकामा १० जना र शैल्यशिखर नगरपालिकामा ७ जना फेला परेका छन् । यस्तै अपिहिमाल गाउँपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा समान ४र४ जनामा क्षयरोग देखा परेको छ ।

जिल्लामा अनुमानित ३ सय २८ जना क्षयरोगका बिरामी रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्ने जस्ता कारणले क्षयरोगीको संख्या घट्न सकेको छैन् ।

क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सुक्ष्म कीटाणुबाट हुने सरुवा रोग हो । एकजना संक्रमित बिरामीबाट २० जनासम्ममा क्षयरोग सर्न सक्ने सम्भावना हुन्छ । नियमित औषधि सेवनले यो रोग निको हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय