दार्चुला कात्तिक २४ । सुदूरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाले स्वर्गीय जय सिह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका धामीको परिवारलाई फारबेस्ट नेपाल सोसाईटी मेरील्याण्ड युएसए को आयोजना तथा फारवेस्ट राईडर्स कैलालीको सहआयोजनामा नगद २ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको हो ।
दार्चुला सदरमुकाम खलंगा पुगेर बुधबार क्लबका अध्यक्ष भरतविक्रम शाहले बेपत्ता धामीकी धर्मपत्नी राजन्ती धामीलाई राहत रकम हस्तान्तरण गरेको हो ।
बेपत्ता जयसिह धामीका सात बर्षीय छोरा डेमियल धामी, श्रीमती राजन्ती धामी, छोरी मेलिना धामी, भाइ नरेन्द्र धामी र पत्रकारहरुको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको हो । गत साउन १५ गते ब्याँस गाउँपालिकाको वडा नम्वर २ मालघाटवाट तुईन तरेर भारतीय बाटो हुँदै सदरमुकामतर्फ आउने क्रममा एसएसबीले तुइन काटिदिएपछि महाकालीमा नदीमा धामी बेपत्ता भएका थिए ।
जयसिह धामीलाई महाकालीमा खसाउने भारतीय एसएसबीलाई अहिलेसम्म कार्वाही हुन सकेको छैन् । जयसिह धामीको हत्यारा एसएसबीलाई कार्वाही गरिदिन परिवारका सदस्यहरुले माग गर्दै आएका छन् । नेपालतर्फ गाउँजाने छोटो र सजिलो बाटो नहुदा व्यास क्षेत्रका स्थानीय तुइनको साहारामा भारतीय मार्ग हुँदै गाउँसम्म जाने गरेका छन् । नेपाल सरकारले पिडित परिवारलाई यसअघि रु १० लाख रुपैया दिएको उनकी श्रीमतीले जानकारी दिईन ।