दार्चुला । नेपाल चीन सिमानाका तिंकर खुलेको छ । चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएको छ र नेपाली व्यापारीलाई ताक्लाकोट आउन भनेको छ ।
ताक्लाकोटमा रहेका नेपाली व्यापारीहरूमार्फत नाका खुला गरिएको जानकारी दिइएको छ । आइतबार नाका खुलेको जानकारी प्राप्त भएको व्यास गाउपालिका १ का वडाअध्यक्ष अशोक सिंह बोहराले बताए ।
चिनियाँ प्रशासनले ताक्लाकोटमा रहेका नेपाली व्यापारीमार्फत तिंकर नाका खुला गरिएको जानकारी दिए पनि औपचारिक जानकारी नेपाली पक्षलाई दिएको छैन ।
व्यासक्षेत्रका स्थानीयमार्फत नाका खुला गरिएको अनौपचारिक जानकारी मिलेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।
नाका सञ्चालनको अौपचारिक जानकारी प्राप्त नभए पनि तिंकर नाकाबाट स्थानीयको आवतजावत हुने तयारी थालिएको छ । छाङरूका स्थानीयले एक दुई दिनभित्रै ताक्लाकोटतर्फ प्रस्थान गर्ने तयारी गरेको वडाअध्यक्ष बोहराले बताए । तिंकर गाउँका स्थानीय भने साउन ६ गतेको पुर्णिमापछि ताक्लाकोट जाने तयारीमा छन् ।
तिंकरको छियालेकमा रहेको सशस्त्र प्रहरीको विओपिले तिंकर नाका भएर ताक्लाकोट आवतजावत गर्ने सबै नागरिकको अभिलेख राख्ने व्यवस्था गरेको छ ।
गत जेठ १७ गते ताक्लाकोटस्थित चिनियाँ अधिकारीहरूसंग दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरूले भिडियो कलमार्फत नाका सञ्चालनबारे छलफल गरेका थिए । उक्त छलफलमा असार ११ गतेदेखि नाका सञ्चालन हुने तय भएको थियो ।
केही प्राविधिक तयारी नपुगेको भन्दै चिनियाँ अधिकारीले असार २६ गते नाका खोल्ने अर्को मिति पठाएका थिए । तर यसबारे औपचारिक जानकारी दिइएको थिएन । असार ११ मा खोल्ने भनिएको तिंकर नाका १५ दिनपछि असार २६ गते खुल्ने अनौपचारिक जानकारी पाएपछि जिल्ला प्रशासनले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।
असार २६ गते पनि पुर्वनिर्धारित मितिमा नाका खुलेन । चिनियाँ पक्षको प्राविधिक तयारी नपुगेको अनौपचारिक जानकारी दिइएको थियो । तर, असार २६ गते नाका खुल्ने तालिकाको चार दिनपछि असार ३० गते नाका खुला गरिएको जानकारी दिइएको छ ।
तिंकर नाका सञ्चालन गर्न दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरूको टोली असार ११ र असार २६ गते चीनको ताक्लाकोट जाने तयारी थियो । तर निर्धारित मितिमा नाका नखुलेपछि सरकारी अधिकारीहरूको भ्रमण स्थगित भएको छ । चिनियाँ पक्षसंगको सम्पर्क र समन्वयमा केही हप्तापछि नेपालका सिमावर्ती क्षेत्रका अधिकारीहरूको टोली ताक्लाकोट जाने तयारी छ ।
कोभीड महामारीका कारण २०७६ सालदेखि बन्द भएको तिंकर नाका पाच वर्षसम्म सञ्चालनमा आएको थिएन । बझाङ जिल्लामा पर्ने उरै नाका पनि केही दिनभित्रै सञ्चालन हुने तयारी छ । kalapaninews
