दार्चुला — व्यास गाउँपालिका–१ का केही व्यापारीहरु चीनको ताक्लाकोट बजारका लागि गाउँबाट हिँडेका छन् । व्यासका स्थानीय २७ जना व्यापारीहरु बुधबार र बिहीबार चीनको ताक्लाकोट बजारतिर गएको प्रशासनले जनाएको छ । कोरोनाको निहुँमा चीनसँगको तिंकर नाका बन्द गरेपछि लामो समयदेखि यहाँका स्थानीय व्यापारीहरुले ताक्लाकोटमा व्यापार गर्न पाएका थिएनन् ।

   चिनियाँ नाका खुलेको औपचारिक जानकारी नआएपनि पहिलो चरणमा बिहीबार छाङ्गरुका १५ जना र टिंकरका १२ जना गरी २७ जना व्यापारी नाका प्रवेशका लागि हिँडेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । छाङरुका १५ जना व्यापारी ताक्लाकोटका लागि बुधबार घरबाट हिडेका र राति डोङकाङ् भन्ने स्थानमा बास बसेर बिहीबार ताक्लाकोटतिर हिडेको स्थानीयबाट खबर प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार ताक्लाकोटमा रहेका स्थानीय व्यापारीमार्फत नाका खुला रहेको भन्ने व्यास क्षेत्रका व्यापारीलाई खबर भएपछि उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।

   तर, आधिकारिक रुपमा चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएको छैन । गत जेठ १७ गते ताक्लाकोटस्थित चिनियाँ अधिकारीहरूसँग दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरूले वी च्याटमार्फत भिडिओ संवाद गर्दै नाका संचालनबारे छलफल गरेका थिए । सोही अनुसार असार ११ गते औपचारिक रुपमा नाका खुल्ने तय भएको थियो । तर, उक्त मितिमा प्राविधिक तयारी नपुगेको भन्दै चिनियाँ पक्ष नाका खोल्न तयार भएन भने पुनः असार २६ गते खुल्ने जानकारी व्यापारीहरुलाई पठाएको थियो । असार २६ गतेपनि औपचारिक रुपमा नाका खुलेन ।

   अहिले यसअघि ताक्लाकोटमा व्यापार संचालन गर्दै आएकाहरुका लागि नाकामा आवागमन सहज भएको व्यापारीहरुलाई खबर आएको र सोही अनुसार व्यापारीहरु त्यसतर्फ जान थालेको दार्चुला प्रशासनले जनाएको छ । उनीहरु शुक्रबार मात्रै चीन प्रवेश बिन्दुमा पुग्ने बताइएको छ । चीन प्रवेशका लागि दार्चुलाका १ सय ८७ जनाले अनुमति पत्र बनाएका छन् । कोरोना कालदेखि दार्चुलाको टिंकर नाका बन्द रहेको छ । ताक्लाकोटमा ५ दर्जन बढी व्यासी परिवारका पसल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय