दार्चुला कात्तिक २५ । यहि कात्तिक २१ गते साझ ७ वजे करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको मार्मा गाउँपालिका वडा नम्वर ४ का ३५ वर्षीय प्रेम महराको परिवारले हत्या भएको आशंका गरेका छन ।
गाउँपालिकाको वडा नम्वर ४ बिम्थी बसर बस्ने महराको वडा नम्बर– २ को लामबगरस्थित गणेशसिंह बिष्ट र शेरसिंह बिष्टको घरमा ढलान गर्ने क्रममा मृत्यु भएको थियो । उनको योजनाबद्ध तवरले हत्या गरिएको आशंका रहेको मृतककी वहिनी धनमति विष्टले वताईन । ‘करेन्ट लागेको भनिएको हो आफन्तहरू कोही पनि घटनास्थल नपुग्दै मृतकको शव अर्कै ठाउँमा लगिएको छ उनले भनीन ।
घटनास्थलमा रगत नभएको र टाउकोको पछाडि २ इन्च गहिरो चोट रहेको उनले वताईन । घटना घटेको ठाउँ २ फिट मात्रै अग्लो भएको र त्यति गहिरो चोट लाग्न त्यहाँ कुनै धारीलो वस्तु नरहेको भन्दै हत्या गरिएको भन्ने कुरा प्रष्ट छ मृतकी वहिनी विष्टले भनिन । शवको वुधवार मात्रै जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरि आफन्तले वुझेका छन ।
घटना भएको भनिएको ठाउँमा त्यस दिन १ सयभन्दा बढी मान्छेहरू भए पनि उनीहरूले फरक फरक कुराहरू बताइरहेको पीडित पक्षको भनाइ छ । मृतकका आफन्तले हत्याको आंशकासहित जाहेरी दिएकाले घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना भएको दिन घर ढलान कार्यमा संलग्न व्यक्तिहरूमाथि नै आफन्तले आंशका गरेकाले घटनाको सत्यतथ्य छानबिन गरिने दार्चुलाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । घटनाको सत्यतथ्य छानविन गरी कोही पनि व्यक्ति दोषी ठहरिएमा कानुन वमोजिम कारबाही गरिने उनले वताए । मृतक महराका दुई श्रीमती र दुई जना छोरा छन् । उहाँका जेठा छोरा आठ वर्षका छन् भने अर्का चार वर्षका छन् ।