काठमाडौँ — कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् । ४२ औं बीपी स्मृति दिवसको अवसरमा आइतबार कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसीहरुले अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे । ‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दै पढ्दैनन् भनेर । अब लाइब्रेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई । बीपी कोईरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो । उहाँ हर चिजमा साहित्यकार, साइकोलोजिस्ट सबैकुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथ साथै धेरै कुरामा उहाँको योगदान छ । राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो’ देउवाले भने ।
