सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही साउन १८ गते शुक्रबार प्रेदशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई पत्राचार गरिसकेका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनका लागि पत्र पठाएको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री सोडारीको प्रस्तावकै आधारमा सभामुख भीमबहादुर भण्डारीले शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बस्ने समय तोकेका छन् । सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २० गतेदेखि अल्पमतमा छन् । तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले साउन १८ गते शुक्रबार विश्वासको मत लिन लागेका हुन् ।

   गएको असार १ गते प्रदेशसभामा प्रस्तुत सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन नसकेर अलपत्र छ । योसँगै प्रदेश सरकारको यही साउन १ गतेदेखि राजस्व सङ्कलन र खर्च गर्नेलगायत गतिविधि ठप्प छन् । प्रस्तुत बजेटमाथि प्रदेशसभामा छलफल गर्न ढिलाइ भइरहँदा असार २० गते एमाले सरकारबाट बाहिरिएको थियो । एमाले बाहिरिएसँगै मुख्यमन्त्रीले अध्यादेशमार्फत बजेट ल्याउने प्रयासस्वरुप असारको अन्तिम हप्तामा वर्षे अधिवेशन (बजेट अधिवेशन) अन्त्य गर्न सिफारिस गरेका थिए । त्यसपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको प्रयास भइरहँदा प्रतिपक्षी नेकपा (एमाले) र नेपाली कांग्रेसले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष लिखित माग गरेका थिए । प्रदेश प्रमुखको आह्वानमा साउन ८ गते सुरु भएको विशेष अधिवेशनअन्तर्गत दुई दिन बसेको बैठक सञ्चालन भए पनि तेस्रो दिनको बैठक मन्त्रीको अनुपस्थितिका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको थियो ।

   सुरुका दुई दिनको बैठकमा उपस्थित हुनुभएकी सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए । नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र), का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी)का चार, नागरिक उन्मुक्तिका दुई, स्वतन्त्र एक सदस्यको समर्थनमा गएको वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय