धनगढी — मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । नयाँ मुख्यमन्त्री नियुक्त नभएसम्म सोडारीलाई नै कामचलाउ तोकिएको छ । संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् । उक्त धारामा दुई या दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको अवधि तोकिएको छ । हाल दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको अवस्थामा सुदूरपश्चिममा यी दुई दलको स्पष्ट बहुमत छ । ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ जना प्रदेश सभा सदस्य संख्या आवश्यक हुन्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । उनीहरु दुई जोड्दा पनि २९ जना पुग्छ । त्यसैमा नागरिक उन्मुक्ति पार्टीसमेतले नयाँ सरकारलाई समर्थन गर्ने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको भागबण्डामा सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भाग परेको छ । तर कांग्रेसले भने को मुख्यमन्त्री हुने भन्ने टुंगो लगाएको छैन । संसदीय दलका नेता कमलबहादुर शाह, सांसदहरु प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्टको मुख्यमन्त्रीमा दाबी रहेको चर्चा छ । बिष्ट शेखर समूहका हुन् भने अन्य तीन जना देउवा समूहका हुन् । देउवा समूहभित्र पनि बहादुरसिंह थापा एनपी साउँद निकट हुन् । देउवा समूहभित्र सुदूरपश्चिममा एनपी साउँद र रमेश लेखकबीच पनि लामो समयदेखि बेग्लै शक्ति संघर्ष छ । कांग्रेस सांसदहरुका अनुसार चार जनाको दाबीका बीच संसदीय दलका नेता शाह र सांसद देउवामध्ये एक जनालाई मुख्यमन्त्री बनाउन सभापति शेरबहादुर देउवाले निर्देशन दिन सक्ने सम्भावना छ । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय