धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। आइतबार प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। आइतबार कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले संविधानको धारा १६८ को उपधारा २ अनुसार शाह मुख्यमन्त्रीमा नियुक्त भएको जनाएका छन्। शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बनेका छन्। उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए।पुन: समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाह फेरि मुख्यमन्त्री बनेका हुन्। उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन्। प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएका थिए। तर २०७९ मंसिरको चुनावबाट गठन भएको प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र उनीपछि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए। १७ असारमा काङ्ग्रेस र एमालेको गठबन्धन बनेपछि सोडारी सरकारबाट बाहिरिएको थियो। त्यसपछि अल्पमतमा परेका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका थिए। सुदूरपश्चिममा ५३ सदस्यीय प्रदेश सभामा बहुमतको लागि २७ सांंसद आवश्यक पर्छ। यहाँ कांग्रेस १८ र एमालेका ११ सांसद मिल्दा स्पष्ट बहुमत पुग्ने भएकाले साना दललाई सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छैन। यद्यपि, नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा लैजाने तयारी भइरहेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय