दार्चुला–सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा शुक्रबार देखि सुरु भएको छ । दार्चुला सहित सुदूरपश्चिमका जिल्लाहरुमा शुक्रबार देखि गौरा शुरु भएको हो । धोइ गौरा मनाउने प्रचलन भएका ठाउँमा आजदेखि गौरा पर्व शुरु भएको छ । आजदेखि गौरा शुरु हुने ठाउँमा बिरुडा भिजाएर ब्रतालु महिलाहरुले गौरा पर्वको शुरुवात गरेका छन्् । शुक्रबार देखि गौरा शुरु भएका ठाउँमा आज नानी गौरा मनाइँदैछ । ब्रतालु महिलाहरुले शुक्रबार (हिजो) भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ । आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।
बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको छ । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ । दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोली सप्तमीका दिनमा गौरालाई भि¥र्याउने चलन छ । भोली नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो (दुबधागो) गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ । तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारण गर्ने गर्दछन् । गौराको समयमा सामूहिक रुपमा ठाडो खेल, ढुस्को, धुमारी लगायतका सांस्कृतिक खेलहरु खेल्ने गरिएको छ ।
यो वर्षको गौरा आजदेखि शुरु भएको ज्योतिषी कृष्णानन्द जोशीले बताउनुभएको छ । यो वर्षको गौरा भदौ कृष्ण पक्षमा परेको छ । भदौ कृष्ण पञ्चमीदेखि गौरा शुरु भएको ज्योतिषी जोशीले बताउनुभयो । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । गौरा पर्वको पहिलो दिन ब्रतालु महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाउने गर्दछन् । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको महाकाली नगरपालिका–५ का हिरा अवस्थीले बताउनुभयो ।
यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् । यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय