दार्चुला–जिल्लाको नौगाड गाउँपालिकालाई सदरमुकाम संग जोड्ने मुख्य सडकको रुपमा रहेको खलंगा–दल्लेक सडक खण्ड आज विहानै देखी अबरुद्ध भएको छ । गएराती भएको वर्षाका कारण लास्खु खोलामा पानीको सतह बढ्दा खलंगा–दल्लेख सडक खण्डको डुङरी स्थित ३÷४ मिटर सडक तलबाट बगाउदा सडक अबरुद्ध भएकाे पत्रकार भोजराज जोशीले जानकारी दिनुभयो ।
खोलाले सडक बगाएपछि उक्त बाटो भएर महाकाली नगरपालिकाको वडा नम्बर २, ३ र नौगाड गाउँपालिका सम्म चल्ने सवारीका साधनहरु चल्न नसकेको उहाँले बताउनुभयो । सोही सडक खण्ड अन्तरगतको कांटै खोला र सेला खोलामा पनि सडक अबरुद्ध रहेको बताइएको छ । खोलाले सडक बगाएपछि सवारीका साधनहरु चल्न नसक्दा गौराका लागि घर जाने नौगाड गाउँपालिका र महाकाली नगरपालिका वडा नम्बर २ र ३ का स्थानीयहरु पैदल हिडेरै यात्रा गर्न बाध्य भएका छन् ।
महाकाली नगरपालिका वडा नम्बर २ र ३ का स्थानीयलाई ४ देखी ५ किलोमिटर हिड्नु पर्ने बाध्यता छ, भने नौगाड गाउँपालिकाका स्थानीयलाई १२ देखी १३ किलोमिटर हिड्नु पर्ने समस्याको सिर्जना भएको बताइएको छ । सडक अबरुद्ध भएको बारे महाकाली नगरपालिकालाई जानकारी गराएको तथा सडक सुचारु गर्न स्काईभेटर पठाउने खबर प्राप्त भएको पत्रकार जोशीले बताउनुभयो ।
यता सोही खोलामा पानीको सतह बढे पछि लास्कु भएर दुहुँ गाउँपालिका र ब्याँस गाउँपालिका सम्म चल्न सवारीका साधनहरु समेत चल्न सकेका छैनन् । दार्चुला–तिंकर सडकखण्ड अन्तरगत पर्ने श्रीबगरको निजाङ खोलामा पनि पानीको सतह बढ्दा उक्त ठाउँमा समेत सवारीका साधनहरु चल्न नसकेको बताइएको छ ।
