धनगढी — कांग्रेस नेता एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाले कांग्रेस-एमालेको वर्तमान सरकार ०८४ सम्मै रहने बताएकी छिन् । धनगढीमा बिहीबार बिहान आफ्नै निवासमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री देउवाले विशेष परिस्थितिका कारण दुई पार्टी एक ठाउँमा आएको बताएकी हुन् । ‘देशको संकट टार्न तथा विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न कांगेस एमाले एक ठाउँमा आएका हुन्,’ मन्त्री देउवाले भनिन्, ‘विशेष विशेष परिस्थितिमा कांग्रेस -एमाले एक ठाउँमा आएको इतिहास छ ।’ दुई ठूला पार्टी मिलेर वर्षौंदेखि थाँती रहेको टीआरसी अघि बढेको उनले बताइन् ।
अन्तर्राष्ट्रिय समुदाय नेपाललाई सहयोग गर्न सकारात्मक रहेको र नेपालप्रति राम्रो धारणा रहेको बताउँदै उनले संविधान संशोधन गर्नु पनि अहिलेको सरकारको उद्धेश्य रहेको बताइन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हालै महिला प्रधानमन्त्री बनाउने इच्छा रहेको टिप्पणीप्रति उनले कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको प्रतिक्रिया दिँदै आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताइन् । ‘ओलीले आफ्नै दलको कुनै महिलातर्फ संकेत गर्नु भएको होला,’ उनले भनिन् ।
