दार्चुला–जिल्लाको मालिकार्जुन गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा जनप्रतिनिधि तथा कर्मचारीहरुको अनुगमन तथा भ्रमणमा २५ लाख रुपैया खर्च गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको अनुगमन तथा मुल्याङ्कन शीर्षकमा विनियोजन रु १० लाख तथा भ्रमण खर्चमा रु १५ लाख विनियोजन गरीएको २५ लाख रुपैया पुरै खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो । सो गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले गाउँपालिका भित्र र बाहिर भ्रमण गरी उक्त रकम सक्काएको मालिकार्जुन गाउँपालिकाका स्थानीयहरुले आरोप लगाएका छन् । जनप्रतिनिधि र कर्मचारीले विकासका काम कुरा भन्दा भ्रमण गरी वार्षिक ठुलो मात्रामा बजेट खर्च गर्ने गरेको उनीहरुले आरोप लगाएका हुन् ।
यस्तै गत आर्थिक वर्षमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमका लागि विनियोजन गरेको ५ लाख रकम मध्ये १५ सय रुपैया बाहेक सबै खर्च गरेको छ । गाउँपालिका अध्यक्ष हिरा सिंह धामी अध्यक्ष रहेको दार्चुला विकास संगठनलाई उक्त कार्यक्रम दिएको मालिकार्जुन गाउँपालिका–३ का स्थानीयहरुले नाम नबताउने सर्तमा जानकारी दिए । हिरा सिंह धामी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए देखी सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण लगायतका अन्य कार्यक्रमहरु दार्चुला विकास संगठनले प्राप्त गर्दै आएको उनको भनाई छ । गाउँपालिकाले एक वर्षको अवधिमा पत्रपत्रिका छपाई र सूचना प्रकाशनमा ५ लाख ४५ हजार ९८९ रुपैया खर्च गरेको जनाइएको छ । हिरा सिंह धामी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि मात्रै उनले दार्चुला विकास संगठनको अध्यक्षबाट राजिनामा दिएका थिए ।
यसैगरी गत आर्थिक वर्षमा जनप्रतिनिधिले सार्वजनिक गाडीभाडामा लिइ प्रयोग गरेको तथा उक्त गाडी र ३ वटा एम्बुलेन्स संचालनका लागि इन्धन शीर्षकमा विनियोजित रकम १० लाख मध्ये ९ लाख ९७ हजार १२५ रुपैया खर्च गरेको छ । सार्वजनिक गाडीभाडामा लिए वाफत गाडीवालालाई भुक्तानी गरेको वार्षिक रकम भने खुलाइएको छैन् । आर्थिक वर्ष २०७९÷०८० को गाउँपालिकामा महालेखापरिक्षकको कार्यालयले गरेको लेखापरिक्षण तथा कार्यालयको ६१ औं वार्षिक प्रतिवेदन अनुसार ३ करोड ७८ लाख बेरुजु देखिएको छ । उक्त प्रतिवेदन अनुसार गाउँपालिकाले गाडीभाडा वाफत वर्षमा ३० लाख ७१ हजार ५ सय रुपैया भुक्तानी गरेको छ ।
गाउँपालिकाले पूँजिगत शीर्षकबाट रु १० लाख गाडीभाडा तिरेको पनि प्रतिवेदनमा उल्लेख छ । पुँजिगत बजेट भनेको गाउँपालिकाको विकासमा खर्च गरिने बजेट हो । यसैबिच आर्थिक वर्ष २०७९÷०८० मा महालेखापरिक्षकको कार्यालयको प्रतिवेदनले गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीले नियम विपरित बुझेको ४ हजार ८ सय रुपैया असुल गर्नुपर्ने देखाएको छ । अध्यक्ष धामीले पालिका आफैले बनाएको कार्य संचालन निर्देशिका विपरित दैनिक १६ सयको दरले ४ हजार ८ सय रुपैया भत्ता वाफत बुझेका छन्, जुन असुल गर्नुपर्ने देखिएको छ । गाउँपालिकाका अध्यक्ष धामी पछिल्लो समय स्थानीय मतदाताको नजरमा आलोचित हुदै आएका छन् ।
