दार्चुला-महाकालीका नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माध्यमिक विद्यालयमा आज विहानै तालाबन्दी गरिएको छ । विद्यालयमा अंग्रेजी विषयको शिक्षकको माग गर्दै कक्षा ११ र १२ का विद्यार्थीहरुले विद्यालयको मुल गेटमा तालाबन्दी गरेको बताइएको छ । विद्यालयको मुलगेटमा तालाबन्दी भएपछि अन्य कक्षामा अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकहरु समेत भित्र पस्न सकेका छैनन् । विद्यालयमा तालाबन्दी गरेर शिक्षकको माग गर्दै विद्यार्थीहरु पानीमै सडकमा उत्रिएका छन् ।
के हो ? मावि धापमा तालाबन्दीको विषय विस्तृत पढुनुहोस
महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११–१२ मा अंग्रेजी शिक्षक अभाव भएको ५ महिना भयो । कक्षा ११ र १२ मा अंग्रेजी विषय पढाउने शिक्षक पुस्कर सिंह रैखोला गत चैतमा आधारभूत तह (०–५) मा स्थायी नियुक्तीका लागि सिफारिस भएपछि विद्यालयमा शिक्षक अभाव भएको हो । शिक्षक अभाव भएपछि २०८१ जेठ ८ गते विद्यालय व्यवस्थापन समितिको बैठक बस्यो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव सिंह धामीको अध्यक्षतामा बसेको बैठकले कक्षा ११ र १२ मा अध्यापनका लागि रिक्त अंग्रेजी राहत दरबन्दीमा शिक्षक पदपूर्ति गर्नका लागि विज्ञापन प्रकाशन गर्न अनुमतीका लागि महाकाली नगरपालिकालाई माग गर्ने निर्णय गर्यो । सोही बमोजिम असार ६ गते महाकाली नगरपालिकाले उक्त विद्यालयलाई माध्यमिक तह कक्षा ११–१२ को अंग्रेजी विषयको राहत शिक्षक नियुक्ती गर्न १५ दिने सूचना प्रकाशन गर्न अनुमति दियो । विद्यालय व्यवस्थापन समितिको पुनः असार ३० गते बैठक बसी शिक्षक नियुक्तीका लागि भन्दै साउन १ गतेदेखि लागू हुने गरी १५ दिने सूचना प्रकाशन गर्ने निर्णय गरी साउन १ गतेको मितिमा सूचना प्रकाशन गर्यो । सोही दिन नै महाकाली नगरपालिकाले शिक्षक भर्ना प्रक्रिया अगाडि नबढाउन विद्यालयलाई पत्राचार गर्दै अर्को पत्र प्राप्त नहुँदा सम्म यथास्थितिमा राख्न आदेश दियो ।
यसपछि मालिकार्जुन नमुना मावि धापको शिक्षक भर्ना विज्ञापन रद्ध भयो । धापको रिक्त उक्त दरबन्दीमा नौगाड गाउँपालिका–४ स्थितको सिप्टी माध्यमिक विद्यालयमा राहत दरबन्दीमै कार्यरत शिक्षक जगत सिंह चैसिरलाई ल्याउन कसरत भएको थियो । राहत दरबन्दीमै रहेका उनलाई अर्को पालिकाबाट ल्याउन कार्यविधिले नमान्ने भएपछि मालिकार्जुन नमुना मावि धापमा शिक्षक नियुक्ती लम्बिएको हो । यसमा नगरपालिकाले स्वार्थ खोजिरहेको आरोप छ । अहिले विद्यालयमा अंग्रेजी शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ । बुधवार (हिजो) पनि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु महाकाली नगरपालिका घेराउका लागि आउने तयारी गरेको बुझिएको छ ।
तर, त्यसको जानकारी नगरपालिकाले पाएपछि नगर प्रमुख नरसिंह चैसिरले बिहीवार (आज) सम्म विद्यालयमा वैकल्पिक शिक्षकको रुपमा भएपनि नियुक्ती गरिसक्ने आश्वासन दिएपछि हिजोको आन्दोलनको कार्यक्रम विद्यार्थीहरुले स्थगित गरेका थिए । उनीहरुले बुधवारको कक्षाहरु बहिस्कार गरेका थिए । यस्तै विद्यालयमा गठित बाल क्लवले पनि थथासिघ्र शिक्षक पदपूर्ति गर्न आग्रह गर्दै पदपूर्ति हुन नसके थप आन्दोलनका कार्यक्रम अघि सार्ने बताएको छ ।
