
दार्चुला कात्तिक २९ । जिल्लाको शैल्यशिखर नगरपालिकाले मालिकार्जुन जात्राका लागि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुन मन्दिर मडमा लाग्ने विशाल जात्राको अवसरमा शैल्यशिखर नगरपालिकाले कार्तिक ३० गते र मंसिर १ गते नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ । शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी बताए ।
यो जात्रा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा मनाइन्छ । मालिकार्जुनबाट शुरु हुने जात्रा बिहानै शिखर धुरा पुगेर पूजापाठ गर्ने चलन छ । पूजापाठपछि मालिकार्जुन मन्दिरमा पुगेर जात्रा विर्सजन गर्ने गर्छन् । जिल्लाको सबैभन्दा ठूलो जात्रा शैल्यशिखर त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ।