दार्चुला–जिल्लाको ब्याँस गाउँपालिका–२ राप्ला दुम्लिङ्ग स्थित गोठान कल्जु मल्ला दुम्लिङ्ग घट्टेखोला बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।
गत साउन २८ गते भएको अबिरल वर्षाका कारण खोलामा आएको बाढीले दुम्लिङ्ग लघु जलविधुतको नहर बगाउदा सो क्षेत्रको विद्युत सेवा अबरुद्ध भएको बताइएको छ । जलविद्युतका प्राविधिक चन्चल जोहारीका अनुसार विगत एक महिन देखी त्याँहाका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । लघु जलविद्युतको नहर खोलाले बगाउँदा विद्युत आपुर्ती बन्द भएको हो । खोलाले सो क्षेत्रमा बसोबास गर्ने १३÷१४ जोहारी परिवारको खेत बगाइसकेको उनले जानकारी दिए ।
खेतमा लगाइएको राज्मा र ओखर पहिरो संग आएको भेलले बगाएर लगेको त्याँहाका स्थानीयहरुले बताएका छन् । अझै पनि कल्जुको बस्ती भन्दा तलबाट पहिरो खसिरहेको र राती पानी परेको दिन सुत्न डर लाग्ने उनले बताए । घर भन्दा तलतिरको सबै खेत खोलाले कटान गरिरहेको तथा हाल सम्म पनि ब्याँसका जनप्रतिनिधिहरु सो क्षेत्रमा नआएको स्थानीयहरुले गुनासो गरेका छन् । ‘पहिरो र खोलाले स्थानीयको खेत जलविद्युतको नहर बगाएको एक महिना पुराभयो हाल सम्म पनि कुनै जनप्रतिनिधि आएका छैनन्, स्थानीय उदय सिंह धामीले भने ।’ विकट गाउँ र स्थानीयलाई स्थानीय सरकारले उपेक्षा गरेको महसुस भयो उनले थपे ।
