दार्चुला-भन्सार कार्यालयले दुई महिनाको अवधिमा साढे ६ लाख भन्दा बढि भन्सार संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनामा दार्चुला भन्सार कार्यालयले ६ लाख ६३ हजार १ सय ७० रुपैया राजश्व संकलन गरेको हो । विगत वर्षहरुमा लक्ष्यभन्दा बढि भन्सार संकलन हुने गरेकोमा यस चालु आर्थिक वर्षका सुरुका दुई महिनामा लक्ष्य अनुसारको भन्सार संकलन हुन सकेको छैन । चालु आर्थिक वर्षको साउन महिनामा ५ लाख ४८ हजार भन्सार संकलन गर्ने लक्ष्य रहेकोमा २ लाख ८९ हजार ८ सय ९२ रुपैया संकलन भएको दार्चुला भन्सार कार्यालयले जनाएको छ ।
भदौ महिनामा पनि लक्ष्य अनुसारको भन्सार संकलन हुन सकेको छैन् । भन्सार कार्यालयको वेवसाइट अनुसार भदौ महिनाको लक्ष्य ६ लाख ३ हजार रहेकोमा ३ लाख ७३ हजार २ सय ७८ राजश्व संकलन भएको उल्लेख गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को साउनमा दार्चुला भन्सार कार्यालयले ६ लाख ७० हजार ४ सय ८१ रुपैया भन्सार संकलन गर्दा भदौ महिनामा ४ लाख ६ हजार ७१ रुपैया राजश्व संकलन गरेको थियो ।
त्यसैगरि अघिल्लो आर्थिक वर्ष २०७९/८० को साउन र भदौमा लक्ष्यभन्दा बढि भन्सार संकलन गरिएको तथ्याकं छ । आर्थिक वर्ष २०७९/८० साउन महिनाको लक्ष्य १ लाख २४ हजार रहेकोमा लक्ष्यभन्दा दोब्बर बढि ३ लाख ५० हजार १ सय ९९ रुपैया राजश्व संकलन भएको थियो भने भदौ महिनाको लक्ष्य १ लाख ५८ हजार रहेकोमा लक्ष्यभन्दा बढि २ लाख ५७ हजार ९२ रुपैया राजश्व संकलन गरेको दार्चुला भन्सार कार्यालयले जनाएको छ । गत तिन आर्थिक वर्षमा दार्चुला भन्सार कार्यालयले लक्ष्यभन्दा बढि भन्सार गरेको थियो ।
