दार्चुला–जिल्लाको महाकाली नगरपालिका–७ धापको मालिकार्जुन नमुना माध्यमिक विद्यालयमा छोराहरुले आमाबुवाको सम्झनामा अक्षयकोषको स्थापना गरेका छन् । महाकाली नगरपालिका–८ काकाडा निवासी नन्दराज जोशी र गंगादेवी जोशीका छोराहरु गणेशराज जोशी, तारादत्त जोशी, देवराज जोशी र महेन्द्रराज जोशीले उक्त विद्यालयमा अध्ययनरत छात्रा, छात्रलाई छात्रबृत्ति प्रदान गर्न अक्षयकोषको स्थापना गर्नु भएको हो । विद्यालयको साधारणधार तर्फका छात्रा, छात्रहरुलाई छात्रबृत्ति प्रदान गर्न नन्दराज गंगादेवी जोशी जेहेन्दार छात्रबृत्ति अक्षयकोष स्थापना गर्नुु भएको विद्यालयका सहायक प्रधानाध्यापक मेघराज जोशीले जानकारी दिनुभयो । साथै उहाँहरुले सोही विद्यालयमा आफ्ना ठुलाबुवा र ठुलीआमाको सम्झनामा पनि अक्षयकोषको स्थापना गर्नु भएको छ । विद्यालयको प्राविधिकधार तर्फका छात्रा, छात्रहरुलाई छात्रबृत्ति प्रदान गर्न करविर सरस्वती जोशी जेहेन्दार छात्रबृत्ति अक्षयकोषको स्थापना गर्नु भएको उहाँले बताउनुभयो ।

दुवै अक्षयकोषमा समान १ लाख ११ हजार १ सय ११ रुपैया रहने गरी कोष स्थापना गर्नु भएको बताइएको छ । कोषको स्थापना २०७८ सालमा गरिएको भएपनि आधिकारिक रुपमा आजबाट सुरुवात गरिएको विद्यालयले जनाएको छ । उक्त कोषबाट दुवै धारतर्फका जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रबृत्ति प्रदान गरिने बताइएको छ । कक्षा १० मा सर्वोत्कृष्ट अंक ल्याइ कक्षा ११ र १२ मा सोही विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई उक्त अक्षयकोषबाट छात्रबृत्ति प्रदान गर्ने प्रावधान राखिएको उहाँको भनाई छ । विद्यालयको शैक्षिक उपलब्धीलाई अभिबृद्धि गर्ने उद्देश्यले बुवा आमाको सम्झनामा कोषको स्थापना गरिएको छोरा तथा सशस्त्र प्रहरी बल नेपालका एसपी देवराज जोशीले जानकारी दिनुभयो ।

अक्षयकोष वाफतको रकम सहित अक्षयकोष संचालन कार्यविधि विद्यालयका प्रध्यानाध्यापक सुन्द्र सिंह बुढाथोकीलाई हस्तान्तरण गरिएको बताइएको छ । यसबाट विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास लिएको प्रधानाध्यापक बुढाथोकीले बताउनुभयो । अक्षयकोष मार्फत यस वर्षको छात्रबृत्ति साधारणधार तर्फका ५ जना र प्राविधिकधार तर्फका ४ जना विद्यार्थीलाई जनही ४ हजार ५ सयको दरले प्रदान गरिएको उहाँले बताउनुभयो । नन्दराज र गंगादेवी जोशीका चार छोराहरु गणेशराज जोशी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक, तारादत्त जोशी एनजीओकर्मी, देवराज जोशी सशस्त्र प्रहरी बल नेपालका एसपी र महेन्द्रराज जोशी मावि नेपाली शिक्षक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय