दार्चुला-हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै पढाइ तथा रोजगारीका शिलशिलामा जिल्ला बाहिर रहेका नागरिकहरु घर फर्कन थालेका छन् । अहिले बसपार्कमा यात्रुहरुको भीड लाग्ने गरेको छ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापना देखि नै अधिकांश विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि बुधवारदेखि नै दार्चुलामा घर फर्केका यात्रुहरुको घुइँचो लागेको हो ।
अहिले दैनिक रुपमा काठमाडौँ, महेन्द्रनगर तथा धनगढीबाट पाँच सय बढी यात्रु जिल्ला भित्रिरहेको महाकाली यातायात दार्चुलाका बुकिंङ कलर्क लबदेव अवस्थीले जानकारी दिए । ‘काठमाडौँ तथा महेन्द्रनगर, धनगढीबाट आउने सवारीसाधनमा अत्यधिक भीड बढेको छ, र्दैनिक पाँच, सात सय यात्रु आइरहेका छन्’, उनले भने ।
जिल्ला भित्रिने यात्रुको भीडले अहिले ग्रामीण क्षेत्रमा सवारी गर्ने सवारी साधन भरि भराउ हुने गरेका छन् । यात्रुको चापलाई मध्यनजर गरेर ट्राफिक प्रहरी तथा प्रहरीले चेकजाँचमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
