
धनगढी- कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको ज्यान गएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ का ६० वर्षीय प्रेमबहादुर रानाको मृत्यु भएको हो । उनको बिहीबार राति १२ बजेतिर भारतको रूद्रपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।
उनका अनुसार रानालाई पुस २३ गते कलुवापुरमा से १ त १३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका रानालाई उपचारका लागि धनगढीस्थि निसर्ग अस्पताल ल्याइएको थियो । बिहीबार निसर्गबाट भारत रिफर गरिएका रानालाई अस्पतालले मृत घोषणा गरेको हो।
ट्याक्टर चालक बेलौरी नगरपालिका–४ का ४० वर्षीय बीरबहादुर चौधरीलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शर्माले बताए । चौधरीमाथि सवारी ज्यान मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए।