धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभालाई निरन्तर संचालन गर्न सभामुख तथा पूर्वमुख्यमन्त्रीहरुसंग छलफल गरेका छन् ।

बिजनेश विहिन बनेको प्रदेश सभालाई प्रभावकारी र बैठकलाई निरन्तर संचालन गर्न मंगलबार मुख्यमन्त्री शाहले आफनै निवासमा छलफल गरेको सचिवालयले जनाएको छ ।
सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको कामकारबाहीलाई प्रभावकारी कार्यान्वयन हुन नसकेका ऐनहरु संशोधन गर्न सरकार तयार रहेको बताए । ‘विगतमा बनेका कतिपय ऐनहरु कार्यान्वयन हुन सकेका छैनन । त्यस्ता ऐनहरु सरकारले संशोधन गर्ने तयारी गरेको छ’ उनले भने –‘सरकारको कामलाई गतिशिल बनाउन ऐन, नियम तथा कानुनहरु आवश्यकता पर्ने भएकाले कार्यान्वयन हुन नसकेको र सरकार संचालनमा कठिनाइ भएका ऐनहरु संशोधन गरिनुपर्छ । त्यही आधारमा सरकारले काम गरिरहेको छ ।’

बैठकमा सभामुख भिमबहादुर भण्डारीले सरकारले जति प्रदेश सभालाई विजनेस दिन सक्यो त्यही आधारमा बैठकले निरन्तरता पाउने बताए । उनले भने –‘सदनलाई प्रभावकारी बनाउन सरकारलाई आवश्यक पर्ने ऐन, कानुनहरु सभामा दर्ता गर्न जरुरी रहेको छ ।’

प्रदेश सभामा सरकारले ऐनहरु दर्ता गर्न नसक्दा बैठक अनिश्चितताको बन्दीमा पर्ने गरेको छ । सोही विषयसहित विविध मुद्दामा मुख्यमन्त्री शाहले पूर्वमुख्यमन्त्रीहरुको रायसहितको छलफल गरेको सचिवालयले जनाएको छ । प्रदेशका सवाललाई लिएर यसरी पूर्वमुख्यमन्त्रीहरु एकसाथ छलफल बैठकमा जुटेको सम्भवतः यो पहिलो पटक हो ।
प्रदेशका समग्र विषयमा छलफल भएको बताइएको छ । राजधानीको निक्र्योल, बजेट कार्यान्वयन, प्रदेशसभाको प्रभावकारी सञ्चालनलगायतका सवालमा छलफल भएको सचिवालयले जनाएको छ ।
सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरीमा घोषणा भएको छ वर्षभन्दा बढी पुगेको छ । तर, प्रदेश सरकारले वन क्षेत्रको उक्त जग्गासमेत प्राप्त गर्न सकेको छैन ।

सोमबार प्रदेशसभा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भण्डारी लगायतका वक्ताले राजधानीको विषय टुंगोमा पुगाउनुपर्ने बताएका थिए । मुख्यमन्त्री शाह पनि गोदावरीमा सम्भव नभए स्थायी राजधानीका लागि विकल्प खोज्ने बताउँदै आएका छन् ।
सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह, माननीय सभामुख भिम बहादुर भण्डारी, पुर्ब मुख्यमन्त्री त्रीलोचन भट्ट, पुर्ब मुख्यमन्त्री राजेन्द्रसिह रावल, निवर्तमान मुख्यमन्त्री दिर्घ सोडारि लगायत छलफलमा सहभागि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय