धनगढी- विश्व हिन्दु परिषद नेपालको आयोजनामा निःशुल्क कम्प्युटर कक्षा सञ्चालन हुने भएको छ ।

प्रविधिको युगमा हरेक व्यक्तिको दैनिकी डिजिटल माध्यमसँग जोडिँदै गएको छ। सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति आवश्यक पर्ने वर्तमान अवस्थामा, विशेषगरी नयाँ पुस्तालाई प्रविधिमैत्री बनाउनका लागि विभिन्न संघसंस्थाहरूले आ-आफ्नै तवरले पहल गरिरहेका छन्।

यही क्रममा, विश्व हिन्दु परिषद नेपाल, सुदूरपश्चिम प्रदेशले आफ्ना सदस्यहरूका छोराछोरीहरूलाई लक्षित गरी निःशुल्क ३ महिनाको कम्प्युटर कोर्स सञ्चालन गर्ने घोषणा गरेको छ। विश्व हिन्दु परिषद नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गर्न लागेको यस विशेष तालिममा सदस्यहरूका छोराछोरीहरूलाई कम्प्युटर सम्बन्धी आधारभूत ज्ञानदेखि व्यावहारिक रूपमा आवश्यक पर्ने विविध प्राविधिक सीपहरू प्रदान गरिनेछ।

कम्प्युटर सञ्चालन, इन्टरनेट प्रयोग, माइक्रोसफ्ट अफिसका महत्वपूर्ण एप्लिकेसनहरू, डिजिटल कम्युनिकेशन, डिजिटल सुरक्षालगायतका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ। परिषदले सूचना प्रविधिबाट वञ्चित भएकाहरूलाई डिजिटल युगमा अब्बल बनाउने उद्देश्यले आफ्ना सदस्यहरूका परिवारका लागि यस्तो कार्यक्रम ल्याएको जनाएको छ।

संगठनका पदाधिकारीहरूका अनुसार, विश्व हिन्दु परिषदका सदस्यहरूका छोराछोरीहरूले यो कोर्सबाट निःशुल्क रुपमा गुणस्तरीय तालिम प्राप्त गर्नेछन्, जसले उनीहरूको भविष्यको शैक्षिक यात्रा र रोजगारीका अवसरहरूमा समेत सकारात्मक प्रभाव पार्नेछ। विश्व हिन्दु परिषद नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा धनगढी क्याम्पस रोडमा रहेको ‘मालिकार्जुन द डिजिटल (The Off IT)’ को विशेष सहयोगमा सञ्चालन हुने यो तालिमका लागि आवश्यक भौतिक सामग्री, दक्ष प्रशिक्षक र प्राविधिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी मालिकार्जुन द डिजिटलले लिने मालिकार्जुन कम्प्युटरका प्रमुख नरेन्द्र साउँदले बताए ।

निःशुल्क कम्प्युटर तालिममा सहभागी हुन इच्छुक सदस्यहरूका अभिभावकहरूलाई समयमै परिषदसँग सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ। सीमित सिट संख्या भएकाले अग्रिम दर्ताका आधारमा मात्र सहभागीता सुनिश्चित गरिने व्यवस्था मिलाइएको छ। तालिम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर ९८५८४२२३४१ मा सम्पर्क गर्न सकिने परिषदले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय