बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्ट पक्राउ परेका छन्।
उनले आफ्नै भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहार गरी हत्या गरेका थिए। घटनापछि फरार रहेका कर्णबहादुरलाई भारतको धार्चुलाबाट आज दिउँसो पक्राउ गरिएको हो। गत शनिबार बेलुकी घर नजिकैको होटलमा खाना खाइरहेका बेला सुरेन्द्रमाथि गोली प्रहार भएको थियो। लेनदेनको विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रलाई गोली हानेको खुलेको छ। सुरेन्द्रले कर्णबहादुरसँग ४० हजार रुपैयाँ लिन बाँकी रहेको र सोही विषयलाई लिएर झगडा भएको थियो।
गोली प्रहारपछि सुरेन्द्रलाई स्थानीयले उद्धार गरी जिल्ला अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। घटनापछि बन्दुकसहित फरार भएका कर्णबहादुरलाई भारतीय सीमा हुँदै भारततर्फ भागेको सूचनाका आधारमा खोजी गरिएको थियो। मोबाइल लोकेशनको आधारमा भारतको धार्चुला नजिकबाट उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।
बन्दुकसहित फरार रहेकाले प्रहरीले आवश्यक परे ‘इन्काउन्टर’ गर्ने योजना समेत बनाएको थियो। कर्णबहादुर शिकारीसमेत भएको र यसअघि पनि लामो समयसम्म जंगलमै बसेर सिकार गर्ने गरेको खुलेको छ। यसअघि पनि हातहतियार ओसारपसारको मुद्दामा मुछिएका कर्णबहादुरलाई नेपाल ल्याउने तयारी भइरहेको छ। उनलाई नेपाल ल्याएपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
