धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर १, पार्क मोडमा अवस्थित ई चाइल्ड केयर मन्टेश्वरी स्कूल ले आफ्नो तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

शिक्षा क्षेत्रमा तीन वर्ष पूरा गरेको अवसरमा विद्यालयले विशेष कार्यक्रमको आयोजना गरेको थियो, जसमा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय बासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढीका पूर्व मेयर नृप बहादुर वड रहेका थिए। विद्यालयका अध्यक्ष तथा सिइओ शंकर श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, तथा स्थानीय विशिष्ट व्यक्तिहरूले आफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध नृत्य, नाटक, गायन तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। परम्परागत तथा आधुनिक नृत्यका साथै सामाजिक सन्देश दिने नाटकहरूले कार्यक्रममा विशेष रंग भरेका थिए।

नृत्य प्रस्तुतिमध्ये “नेपाली संस्कृतिको झल्को दिने” समूह नृत्य तथा “बालबालिकामा शिष्टाचार र शिक्षाको महत्त्व” भन्ने विषयवस्तुमा आधारित नाटक प्रमुख आकर्षण बनेका थिए।

कार्यक्रममा विद्यालयका शिक्षक तथा अभिभावकहरूलाई समेत सहभागी गराई मनोरञ्जनात्मक खेल, प्रश्नोत्तर तथा पुरस्कार वितरण कार्यक्रम समेत समावेश गरिएको थियो।

विद्यालयको वार्षिकोत्सवको अवसरमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। शिक्षादेखि व्यवसाय, सञ्चार, प्रविधि तथा समाजसेवा क्षेत्रका अगुवाहरूलाई विद्यालयले विशेष सम्मान पत्र प्रदान गरेको थियो। सम्मानित व्यक्तित्वहरू निम्न रहेका छन्:

शिक्षा क्षेत्र अन्तर्गत ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट सम्मानित भएका हुन्, वसायिक क्षेत्र अन्तर्गत मोर्डन तयारी पोशाकका सञ्चालक हिक्मत बहादुर दर्जी सम्मानित भएका हुन्, सञ्चार क्षेत्र अन्तर्गत टिभी टुडे प्रदेश प्रमुख बिना शाहीलाई सम्मानित गरिएको हो। समाजसेवा क्षेत्रमा आसरा सुधार केन्द्र फूलबारीका प्रमुख बीर बहादुर पार्की, प्रविधि तथा सूचना प्रवाह क्षेत्रमा माइक्रोटेकका सञ्चालक तारानाथ ओझा, व्यवसाय तथा उद्यमशीलता क्षेत्रमा चौलानी ड्रेस हाउस अत्तरियाका प्रमुख हिक्मत साउदलाई सम्मानित गरिएको हो ।

विद्यालयका अध्यक्ष शंकर श्रेष्ठका अनुसार सम्मानित व्यक्तित्वहरू शिक्षा, प्रविधि, सञ्चार, समाजसेवा तथा उद्यमशीलताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा संलग्न भएकाले विद्यालयले उनीहरूको योगदानको कदर गरेको बताए ।

कार्यक्रममा विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई विशेष स्वागत कार्यक्रम आयोजना गरिएको थियो। चालु शैक्षिक सत्रमा सरस्वती पूजाको अवसर पारेर नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यालय परिवारसँग परिचय गराउने कार्यक्रम समेत गरिएको थियो।

यु.के.जी. उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गर्ने विद्यार्थीहरूलाई ग्राजुएसन प्रमाणपत्र प्रदान गर्दै उनीहरूको शिक्षा यात्राको अर्को चरणलाई उत्साहित गराउने कार्यक्रम समेत आयोजना भएको थियो। नयाँ विद्यार्थीहरूसँगै विद्यालयका अभिभावकलाई समेत विशेष स्वागत गर्दै उनीहरूको विद्यालयप्रतिको विश्वासलाई अझ प्रगाढ बनाउने प्रयास गरिएको थियो।

कार्यक्रममै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरूलाई उत्कृष्ट शिक्षण पद्धति, विद्यार्थीहरूसँगको सम्बन्ध तथा विद्यालयको शिक्षामा पुर्‍याएको योगदानका आधारमा सम्मान गरिएको थियो।

त्यसै गरी, अभिभावकहरूको भूमिका पनि विद्यालय र विद्यार्थीहरूका लागि महत्त्वपूर्ण हुने भएकाले विद्यालय प्रशासनले सक्रिय, सहयोगी तथा विद्यालयसँग राम्रो सम्बन्ध राख्ने अभिभावकहरूलाई विशेष सम्मान प्रदान गरेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नृप बहादुर वड ले विद्यालयले छोटो समयमा राम्रो शिक्षा प्रणाली स्थापना गर्न सफल भएको उल्लेख गर्दै भने, “शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार हो। अभिभावकहरूले आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा प्रदान गर्न उत्कृष्ट विद्यालय छनोट गर्नु आवश्यक छ। ई चाइल्ड केयर मन्टेश्वरी स्कुलले बालबालिकाको सिकाइ प्रक्रिया सहज बनाउन रचनात्मक शैली अपनाएको छ, जसले विद्यार्थीहरूलाई राम्रो बनाउन मद्दत पुर्‍याउनेछ।”

विद्यालयका अध्यक्ष शंकर श्रेष्ठ ले विद्यालयको उद्देश्य, भावी योजनाहरू तथा गुणस्तरीय शिक्षाको आवश्यकताबारे प्रकाश पार्दै भने, “हामी केवल विद्यार्थीहरूलाई किताबी ज्ञान दिन चाहँदैनौं, हामी उनीहरूलाई व्यवहारिक शिक्षा, नैतिकता र आत्मनिर्भर बन्ने क्षमता समेत प्रदान गर्ने लक्ष्य राख्छौं। विद्यालयले आगामी वर्षहरूमा अझ स्तरीय शिक्षण विधि, प्रविधियुक्त कक्षा कोठा तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि नयाँ योजना कार्यान्वयन गर्दै जानेछ।”

विद्यालयका सहायक प्रधानाध्यापक निर्मला कुमारी विष्ट ले विद्यालयका गतिविधिहरू, विद्यार्थीहरूको प्रगति तथा भविष्य योजनाबारे जानकारी दिँदै सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिन्।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय