दार्चुला – दार्चुलामा प्रहरीले विभिन्न अपराधमा संलग्न रही लामो समयदेखि फरार रहेका ५७ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार न्यायिक निकायबाट भएका फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयबाट जरिवाना तोकिएकाहरू फरार रहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार फागुन २९ गतेदेखि चैत्र ११ गतेसम्मको अवधिमा ती प्रतिवादीहरूलाई पक्राउ गरी लगत कट्टा गरिएको छ। पक्राउ परेकामध्ये अभद्र व्यवहारसम्बन्धी कसुरमा ५१ जना तथा जुवा सम्बन्धी कसुरमा ६ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको नेतृत्व गत असोजदेखि प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले सम्हालेपछि फैसला कार्यान्वयनका लागि विशेष अभियान सञ्चालन गरिएको छ। सोही अभियानअन्तर्गत जिल्ला अदालतबाट फैसला भई फरार रहेका सात जना प्रतिवादी पक्राउ परी कानुनी प्रक्रिया पूरा गरी रु १ लाख ९८ हजार ९०० जरिवाना तथा ३१ वर्ष १० महिना १७ दिन कैद असुल गरिएको डीएसपी दाहालले जानकारी दिएका छन्।

गत असोजदेखि हालसम्म विभिन्न शीर्षकमा ७४ वटा मुद्दा दर्ता भएकोमा ३७ वटा मुद्दा फछ्र्यौटको क्रममा रहेका छन्। यस अवधिमा ५२ जना प्रतिवादी पक्राउ परी कानुनी कारबाही अघि बढाइएको छ भने अन्य ३७ वटा मुद्दा हदम्यादका कारण अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय