
दार्चुला: दार्चुला उद्योग वाणिज्य संघ, दार्चुलाद्वारा आयोजित दार्चुला महोत्सव २०८१ चैत्र १५ देखि २५ गतेसम्म भव्य रूपमा सञ्चालन भइरहेको छ। सदरमुकाम खलंगामा व्यापार प्रवर्द्धन, पर्यटन विकास र संस्कृतिको जगेर्नाका नाममा ठूल्ठूला स्टेज तयार भए, आकर्षक ब्यानर टाँगिए, रंगीचंगी झिलिमिलीबिच नेताहरू मञ्चमा उक्लिए। तर, त्यही महोत्सवकै छेउमै भारतीय पक्षले निर्बाध रूपमा नेपाली भूमिमा स्काभेटर चलाइरहेको दृश्य नेताहरूले देखेनन् कि देखेर पनि आँखा चिम्लिए? चिल्ला भाषण ठोक्ने, माइक समातेर राष्ट्रवादको गुड्डी हाँक्ने ती नेताहरू किन मौन छन्?
दार्चुलाका जनता आक्रोशित छन्। आफ्नै आँखाअगाडि माटोमा हलो जोत्न पाउनु पर्ने ठाउँमा विदेशी मेसिन कुदिरहेको छ, भूमि आफ्नै तर अधिकार अरूको जस्तो देखिँदैछ। सीमामा कति नेपाली मिचिए, कति सिमाना सारिए, कति नदी बगाइए? हरेक पटक जनता चिच्याउँछन्, विरोध गर्छन्, आवाज उठाउँछन्, तर कुर्सीमा बसेकाहरू कानमा तेल हालेर बस्छन्। महोत्सवमा भोजभतेर भइरहँदा, सीमामा अर्को इतिहास मेटिँदै छ। यो बेवास्ता हो कि सत्ताको सौदाबाजी? यो मौनता डरको हो कि आत्मसमर्पणको?
महोत्सवमा नेताहरूको लर्को लागेको छ। कसैले व्यापार प्रवर्द्धनको कुरा गरिरहेका छन्, कसैले पर्यटन विकासका सपना देखाइरहेका छन्। भाषणमा देशभक्ति घोल्ने, चुनावी सभामा स्वाभिमानको नारा लगाउने ती नेताहरू सीमाको वास्तविकता भुले कि देखेझैं नगरे? यहाँको माटोमा जन्मिएर यहाँकै हावापानीमा हुर्किएका जनता देख्छन्, महसुस गर्छन्। तर, आफ्नै आँखाअगाडि भइरहेको सीमाको अतिक्रमण नेताहरूलाई किन देखिँदैन? नेता भएपछि आँखा बन्द हुन्छ?
यतिबेला दार्चुलामै अर्को कार्यक्रम आयोजना गरियो। गणतन्त्रको पक्ष र अराजकताको विपक्षमा भन्दै जनजागरण सभा भयो, ठूला नेताहरू मञ्चमा उक्लिए, भाषण गरे, नाराहरू घन्काइए। तर, सीमामा चलिरहेको स्काभेटरबारे उनीहरूले किन एक शब्द पनि उच्चारण गरेनन्? सीमाको सुरक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, नेपाली माटोको संरक्षणबारे बोल्नुपर्ने बेलामा मौनता साँध्ने? के महोत्सवका स्टेजहरू भाषण गर्ने मात्र मञ्च हुन्? के जनजागरण सभा सत्ताको खेल मात्रै हो? सीमामा भइरहेको अन्यायबारे जनतालाई जगाउने काम किन गरेनन्?
यो देश भाषणले जोगिँदैन। नाराले माटो टाँसिँदैन। नेताको गफले सिमाना सुरक्षित हुँदैन। अब जनताले प्रश्न गर्न थालेका छन्— यो देशका नेता कुन देशका लागि काम गर्छन्? आफ्नै माटो मिचिँदा पनि बोल्न नसक्नेहरू देश हाँक्ने योग्य छन्? कि महोत्सवका स्टेजमा उभिएर गफ छाट्न मात्र आएका हुन्? अब त बोल, नेताज्यू! कि अझै मौन रहने?