
दार्चुला -दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि दिनेशराज पन्तको नेतृत्वमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिएको छ। यसपटकको निर्वाचनमा स्वतन्त्र विद्यार्थीहरूको हकहितलाई प्राथमिकतामा राख्दै व्यापक एजेन्डासहित उम्मेदवारी दिइएको छ।
स्ववियु निर्वाचनका लागि प्रस्तुत घोषणापत्रमा विद्यार्थीहरूको शिक्षामा गुणस्तर वृद्धिदेखि लिएर भौतिक पूर्वाधार सुधार, पारदर्शिता तथा सुशासन, रोजगारीका अवसरको प्रवर्द्धन, डिजिटलीकरण तथा मानसिक स्वास्थ्य सुधारजस्ता विषयहरूलाई विशेष प्राथमिकता दिइएको छ।
प्यानलको घोषणापत्र अनुसार क्याम्पसमा नियमित कक्षा सञ्चालनको सुनिश्चितता, परीक्षा प्रणाली सुधार, छात्रवृत्ति वितरणमा पारदर्शिता, पुस्तकालय तथा ल्याब सुविधाको विस्तार, इन्टरनेट पहुँच अभिवृद्धि, स्वास्थ्य बीमा तथा आपत्कालीन स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नुपर्ने कुरामा विशेष ध्यान दिइएको छ।
यसैगरी, विद्यार्थी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै, विद्यार्थीहरूको स्वतन्त्र प्रतिनिधित्वलाई सुनिश्चित गर्ने, कलेज प्रशासनमा हुने अनियमितता तथा भ्रष्टाचारविरुद्ध सशक्त रूपमा उभिने अठोट लिइएको छ। साथै, शुल्क वृद्धिको विरोध, अनावश्यक शुल्क खारेजी, आर्थिक पारदर्शिता, घूसखोरी नियन्त्रणजस्ता विषयलाई पनि विशेष प्राथमिकता दिइएको छ।
विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै रोजगारी तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले कलेज तथा विश्वविद्यालयस्तरमा इन्टर्नशिप कार्यक्रम, रोजगार मेला, स्टार्टअप तथा व्यवसायिक तालिम सञ्चालन गर्ने प्रतिवद्धता गरिएको छ।
पर्यावरणीय चेतना अभिवृद्धि गर्दै क्याम्पस क्षेत्रमा हरियाली प्रवर्द्धन, प्लास्टिक न्यूनिकरण, फोहोर व्यवस्थापन सुधार, साइकल तथा सार्वजनिक यातायात प्रयोगको प्रोत्साहनलाई समेत घोषणापत्रमा समावेश गरिएको छ।
सुरक्षा तथा न्याय प्रवर्द्धनका लागि छात्रा तथा विद्यार्थी सुरक्षामा प्रभावकारी कदम चाल्ने, यौन हिंसा, दुर्व्यवहार तथा लैङ्गिक हिंसा विरुद्ध कडा नीति लागू गर्ने, समान अवसर तथा समावेशिताको प्रत्याभूति गर्ने लक्ष्य लिइएको छ।
खेलकुद र अतिरिक्त क्रियाकलापलाई प्रवर्द्धन गर्दै क्याम्पसस्तरमा खेलकुद पूर्वाधार सुधार, वार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना, विद्यार्थी क्लबहरूको सशक्तीकरण तथा तिनका लागि आवश्यक बजेट व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ।
छात्रावास तथा क्याम्पस जीवन सुधारका लागि छात्रावासको गुणस्तर वृद्धिसँगै स्वच्छ खानेपानी, उचित सरसफाइ, सुपथ मूल्यमा पोषणयुक्त खाना उपलब्ध गराउने व्यवस्था गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
डिजिटलीकरण तथा प्रविधिको उपयोगलाई प्रभावकारी बनाउन अनलाइन कक्षा, डिजिटल लाइब्रेरीको प्रवर्द्धन, प्रशासनिक सेवा (फारम भर्ने, नतिजा हेर्ने) डिजिटल माध्यमबाट सहज बनाउने विषय समावेश गरिएको छ।
विद्यार्थी समस्या समाधानका लागि प्रत्येक कलेजमा विद्यार्थी समस्याहरू सुन्ने र समाधान गर्ने संयन्त्र स्थापना गर्ने, प्रशासन र विद्यार्थीबीच समन्वय बढाउने योजना अघि सारिएको छ।
मानसिक स्वास्थ्य तथा परामर्श सेवाका लागि विद्यार्थीहरूका लागि निःशुल्क मनोपरामर्श सेवा उपलब्ध गराउने, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने, तनाव व्यवस्थापन तथा व्यक्तित्व विकास तालिम आयोजना गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ।
अनुसन्धान तथा नवप्रवर्तन (Innovation) प्रवर्द्धनका लागि विद्यार्थीहरूको अनुसन्धान तथा परियोजनाका लागि कोष स्थापना गर्ने, विज्ञान तथा प्रविधिसम्बन्धी नवप्रवर्तन केन्द्र (Innovation Hub) स्थापना गर्ने, अनुसन्धानमैत्री वातावरण सिर्जना गर्ने योजना अघि सारिएको छ।
विशेष आवश्यकता भएका विद्यार्थीहरूको लागि सहजीकरण गर्दै अपांगता भएका विद्यार्थीहरूका लागि पूर्वाधार तथा सुविधा सुधार गर्ने, अध्ययन सामग्री तथा कलेज पहुँचलाई समावेशी बनाउने, सहायक उपकरण तथा शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ।
स्थानीय समुदायसँग समन्वय गर्दै विद्यार्थीहरूलाई समाजसेवा तथा सामुदायिक कार्यक्रममा संलग्न गराउने, विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग कार्यक्रम सञ्चालन गर्ने, विश्वविद्यालय तथा स्थानीय निकायबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता लिइएको छ।
छात्रा दिदीबहिनीहरूको समस्यालाई मध्यनजर गर्दै महिनावारी हुँदा सेनिटरी प्याडको व्यवस्थापन गर्ने, महिला विद्यार्थीहरूको स्वास्थ्य तथा स्वच्छताको सुनिश्चितता गर्ने योजनालाई पनि घोषणापत्रमा समेटिएको छ।
उम्मेदवारहरूको टिम निम्नानुसार छ:
सभापति: दिनेशराज पन्त, सचिव: दिनेश घरणी, कोषाध्यक्ष: सपना पार्की, प्रत्यक्ष सदस्यहरू: संगीता बिष्ट, प्रभा ठगुन्ना, रन्जु बोहरा ,रञ्जना बोहरा रहेका छन् ।
स्वतन्त्र विद्यार्थीहरूको यो प्यानलले विद्यार्थी हकहित र समग्र क्याम्पस सुधारलाई आफ्नो मुख्य उद्देश्य बनाएको छ। विद्यार्थीहरूले गुणस्तरीय शिक्षा, पारदर्शी प्रशासन, स्वच्छ क्याम्पस वातावरण, यातायात तथा स्वास्थ्य सुविधा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, महिला विद्यार्थीहरूका लागि विशेष सुविधा तथा मानसिक स्वास्थ्य परामर्श सेवामा सुधार गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ।
उम्मेदवारहरूले विद्यार्थीहरूको हितका लागि आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताउँदै विद्यार्थी समुदायलाई मतदानको लागि अपिल गरेका छन्। उनीहरूले निर्वाचित भएपछि प्रस्तुत गरिएको घोषणापत्रलाई व्यवहारमा उतार्ने वाचा गरेका छन्।