धनगढी – विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश कार्यालय तथा धनगढी उप–महानगर समिति द्वारा आयोजित १३औँ स्थापना दिवस तथा राम नवमी पर्व समारोह २०८१ सालको चैत २४ गते आइतबारका दिन भव्य रूपमा सम्पन्न भएको छ।
धनगढी–३, गुरुद्वारा मार्गस्थित परिषद्को कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा बिहान ७ः३० बजेदेखि धार्मिक एवं सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिएको थियो। वैदिक विधिअनुसार हवन तथा पूजापाठबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो भने त्यसपछि भजन–कीर्तन, धार्मिक प्रवचन, नव वर्ष २०८२ को शुभकामना आदान–प्रदान र भित्ते पात्रो विमोचनजस्ता कार्यक्रमहरू गरिएको थियो।
समारोहमा विश्व हिन्दु परिषद्का केन्द्रीय सङ्गठन सचिव प्रल्लाद कुमार रेग्मी , सुदूरपश्चिम प्रदेश सम्भाग अध्यक्ष महेन्द्रराज पन्त , विभिन्न धार्मिक सङ्घसंस्था तथा स्थानीय सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित वक्ताहरूले परिषद्ले धर्म, संस्कृति, राष्ट्रियता तथा समाजसेवामा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै, युवा पुस्तालाई धर्मप्रति जागरूक बनाउन परिषद्को अभियानलाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा श्रद्धालुहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो। परिषद्का स्वयंसेवक, महिला सदस्यहरू र युवाहरूको सक्रिय भूमिका कार्यक्रम सफल बनाउने मुख्य आधार रहेको आयोजकले जनाएको छ।
भजन कीर्तनबाट धार्मिक माहोल सजीव बनेको थियो भने पूजापाठपश्चात् सामूहिक प्रसाद वितरण गरिएको थियो। समारोहको अन्त्यतिर नव वर्ष २०८२ को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो।
कार्यक्रम अन्त्यमा आयोजक संस्थाले सम्पूर्ण सहयोगी, अतिथि तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ ठुलो सहभागितासहित यस्ता धार्मिक गतिविधिहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
