दार्चुला । जिल्लाको नौगाड गाउँपालिका–१ स्थित नागु एयरकोट क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।

वडा नम्बर १ का अधिकांश बस्तीहरूमा हाल राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति पुर्याउने काम भइरहेको वडा अध्यक्ष हरिलाल सिंह महताले जानकारी दिनुभयो । तर सडक सुविधा नहुँदा ट्रान्सफर्मर र अन्य सामग्री ढुवानीमा कठिनाइ भएको उहाँको भनाइ छ ।

आइतवार नागु र एयरकोटका लागि पहिलो ट्रान्सफर्मर स्थानीयवासीहरूले काँधमा बोकेर ढुवानी गरेका छन् । वडा नम्बर १ का लागि ४ वटा ट्रान्सफर्मर आवश्यक पर्ने भएकाले बाँकी उपकरणको ढुवानी कार्य जारी रहेको अध्यक्ष महताले बताउनुभयो ।

गाउँपालिकाले सडक निर्माणका लागि स्कारभेटर प्रयोग गरेर सल्ला क्षेत्रसम्म सडक पुर्याए पनि त्यसभन्दा माथिल्लो भागमा कडा चट्टान र भिरालो जमिनले सडक विस्तारमा अवरोध उत्पन्न भएको छ । सडक नपुगेका कारण स्थानीयवासीहरूलाई दैनिक उपभोग्य सामग्री बोक्नेदेखि यात्रा गर्नेसम्म जोखिम मोल्नुपर्ने अवस्था छ ।

नौगाड गाउँपालिकामा हाल ७ वटा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । यद्यपि, डोल्पा दार्चुला कम्पनीमार्फत राष्ट्रिय प्रसारण लाइनबाट बत्ती पुर्याउने काम भइरहेको छ । गाउँपालिकाका प्रवक्ता राजेन्द्र सिंह बोहराका अनुसार हालसम्म करिब ८० प्रतिशत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान कार्य सम्पन्न भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय