दार्चुला: सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान भएका छन् ।
जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराएपछि उनलाई जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले चैत २२ गते जिल्ला अदालतको धरौटीमा छाड्ने निर्णय उल्ट्याउँदै थुनामा पठाउन आदेश दिएको थियो ।
![]()
अदालतको आदेशपछि शुक्रबार काठमाण्डौबाट पक्राउ परेका लामिछानेलाई भैरहवा पुर्याइएको थियो । लगातार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई प्रहरी हिरासतमा राखिएको थियो ।
यसअघि जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो, जुन आदेश उच्च अदालतले आज खारेज गरेको हो ।
सुप्रिम सहकारीमार्फत ५५ करोड रुपैयाँ अपचलन गरेको आरोपमा लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको थियो । कास्की, काठमाण्डौ, चितवन र पर्सामा समेत उनीविरुद्ध सहकारी ठगीका मुद्दा दायर छन् । पर्साबाहेक अन्य सबै जिल्लामा उनलाई धरौटीमा छाडिएको थियो ।
पूर्व डीआईजी छविलाल जोशीविरुद्धको मुद्दामा भने अदालतले जिल्ला अदालतको आदेश सदर गर्दै उनलाई थुनामा पठाउने आदेश यथावत् राखेको छ ।
केही दिनअघि मात्र लामिछाने पुनः रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका थिए । सभामुख देवराज घिमिरेसँग लामिछानेको सांसद पद निलम्बन हटाउने विषयमा छलफल भइरहेको बेला अदालतको आदेशअनुसार उनलाई जेल चलान गरिएको हो ।

