दार्चुला। सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत पर्ने जिल्ला सदरमुकाम खलंगामा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका प्रकाश बडू प्यानल सहित विजयी हुनु भएको छ । प्रत्यक्षतर्फ खसेको कुल मत ४४९ मध्ये गठबन्धनका साझा उम्मेदवार नेविसंघका बडू २२२ मत प्राप्त गरी विजयी हुनुभएको सहायक क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत करनसिंह साउँदले जानकारी दिनुभयो । अनेरास्ववियुका खडकसिंह ठगुन्नालाई पराजित गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट नेविसंघका बडू प्यानलसहित विजयी हुनुभएको हो ।
बडूका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त गर्नुभयो । सभापतिमा स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मतमात्रै प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका लालसिंह महर २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ, भने अनेरास्ववियुका दिपुसिंह महताले २१५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा गठबन्धनका जगतसिंह धामी २४० मत प्राप्त गर्दै विजयी हुँदा अनेरास्ववियुका कुसुम धामीले २०३ मत प्राप्त गर्नुभयो । दार्चुला बहुमुखी क्याम्पसमा समानुपातिकतर्फ ४३६ मत खसेको थियो । बुधबार बेलुकी ६ बजेपछि सुरु भएको मतगणना राती ११ बजेपछि मात्रै सम्पन्न भएको थियो ।
यसैबिच गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुनिल डाँगा १०५ मत प्राप्त गर्दै विजयी हुनु भएको निर्वाचन अधिकृत रामेशचन्द्र जोशीले जानकारी दिनुभयो । प्रत्यक्षतर्फ खसेको कुल मत २३० मध्ये नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका साझा उम्मेदवार नेविसंघका नरेश विष्टले १०२ मत प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका नवराज भट्ट १२५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ, भने स्ववियु कोषाध्यक्षका उम्मेदवार गठबन्धनका अम्मरा धामी र अनेरास्ववियुका रेजिना विष्टले सामान १०८ मत प्राप्त गर्दा गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार अम्मरा धामी विजयी हुनुभएको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता हुन, भने गोकुलेश्वर बहुमुखी क्याम्पसमा २६४ मतदाता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय