दार्चुला, अपिहिमाल – नयाँ वर्ष तथा बिसु पर्वको अवसरमा अपिहिमाल गाउँपालिकामा गाउँपालिका स्तरीय अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन शुक्रबार (आज) भएको हो। उद्घाटन समारोहमा गाउँपालिकाका शिक्षा शाखा अधिकृत विरेन्द्र साउदको अध्यक्षता रहेको थियो भने वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र सिंह धामी प्रमुख अतिथिको रूपमा सहभागी थिए।
गाउँपालिकाका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीका अनुसार प्रतियोगिता वडा नम्बर ५ मा रहेको भवानी माध्यमिक विद्यालय, सौगन्नाको खेलमैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगितामा गाउँपालिका भित्रका १२ टिमको सहभागिता रहेको छ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ३० हजार र तेस्रो हुने टिमले २० हजार नगदसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ।
खेलकुदमार्फत आपसी एकता, सहकार्य र स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

