दार्चुला, सुदूरपश्चिम —देशभर आन्दोलनको हावा चलेको छ। कोही राजा चाहिन्छ भनेर सडक तताइरहेका छन्, कोही राष्ट्रपति चाहिन्छ भन्दै ब्यानर उचालिरहेका छन्। शिक्षकहरू ऐनको माग गर्दै देशभर धर्नामा छन्। तर, जुन कुरामा देशको अस्मिता, माटो र स्वाभिमान जोडिएको छ — त्यसमा भने न संसद बोल्छ, न सत्ता बोल्छ, न नेता बोल्छन्।
यतिखेर दार्चुलाको महाकाली नगरपालिकामा भारतको स्क्याभेटर नेपाली भूमिमा खुलेआम डुलेको छ। सीमा पार गर्दै, हाम्रो माटोमा गाडी घुसाएर भारत विकासको नाममा हेक्का नपाई आफ्नो ‘दादागिरी’ देखाइरहेको छ। यो दृश्य कुनै लुकेर गरिएको काम होइन, Gatishil News Online मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ। नागरिकहरू चिच्याइरहेका छन्, रोइरहेका छन् — “यो हाम्रो भूमि हो!” भन्दै खबरदारी गरिरहेका छन्। तर, नेपाल सरकार कहाँ छ? किन टुलुटुलु हेरिरहेछ?
सरकार यदि छ भने बोल! यदि छैन भने जनतालाई अधिकार दे — अब हामी बोल्छौं, हामी लड्छौं, हामी माटोको रक्षा गर्छौं!
आज सीमामा भारतको स्क्याभेटर चल्दैछ, भोलि त त्यही स्क्याभेटरले हाम्रो घर भत्काउने हो कि? यो त सिमानाको प्रश्न हो! स्वतन्त्रताको, सार्वभौमिकताको, अस्तित्वको प्रश्न हो! अनि त्यही समयमा केन्द्रको कुर्सीमा बसेका नेताहरूको मुखबाट एक शब्द ननिस्कनु भनेको के हो? यो मौनता देशघात होइन?
आज दार्चुलाको सीमामा स्क्याभेटर चलाउँदा सरकार चुप छ भने, भोलि लिपुलेक–लिम्पियाधुरा हुँदै काठमाडौंसम्म ल्याउँदा पनि यसरी नै चुप लाग्ने हो? गृहमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको जिम्मेवारी के हो? शपथ खाँदा देशको माटो, जनताको रक्षा गर्ने कसम खाएका होइनन्?
कतिबेला आँखा खुल्छ सरकार? पटकपटक भारतले सिमाना मिच्दा हामीले आवाज उठायौं, आन्दोलन गर्यौं, चिठी लेख्यौं, प्रत्यक्ष प्रमाण देखायौं — तर तिमीहरू कहिल्यै नउठ्ने, नबोल्ने, नचिन्तित हुने? अब त लाग्छ, सरकार जीवित छैन — यसले न त जनताको पीडा सुन्छ, न माटोको चिच्याहट!
अब जनता मौन बस्दैनन्। राजा, राष्ट्रपति, शिक्षक ऐन… ती सबै विषयहरू महत्त्वपूर्ण छन्, तर माटो मिचिँदै जाँदा तिनीहरू सबै भन्दा अगाडि राष्ट्रको अस्तित्व बचाउनु पर्छ।
अब आन्दोलन सिमानाको पनि हुनुपर्छ!
अब खबरदारी सीमामा पनि गरिनुपर्छ!
अब सरकारसँग जवाफ माग्नुपर्छ — “यो माटो हाम्रो हो कि होइन?

