दार्चुला – जिल्लामा गहुँ उत्पादनमा सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ। कार्यालय प्रमुख सिद्दराज उपाध्यायका अनुसार गत वर्षको तुलनामा यस वर्ष १.९३ प्रतिशतले उत्पादन बढेको हो।
गत वर्ष ११ हजार ३ सय ५० मेट्रिक टन गहुँ उत्पादन भएकोमा यस वर्ष ११ हजार ४ सय ९३ मेट्रिक टन गहुँ उत्पादन भएको उहाँको भनाइ छ। जिल्लामा ५ हजार ९ सय ५५ हेक्टर क्षेत्रमा गहुँ खेती गरिएको थियो।
गहुँखेतीको क्षेत्रफल बढे पनि हिउँदे वर्षा नहुँदा, परम्परागत विउँको प्रयोग, कृषि जनशक्तिको अभाव, रोग–कीराको संक्रमण र सिचाइ समस्याका कारण उत्पादन अनुमानअनुसार हुन नसकेको बताइएको छ।
जिल्लामा २९ हजार ५ सय ४४ हेक्टर खेतियोग्य जमिनमध्ये २२ हजार ८ सय २५ हेक्टरमा मात्रै खेती हुँदै आएको छ। तीमध्ये पनि जम्मा ३३ प्रतिशत क्षेत्रमा मात्रै सिचाइ सुविधा रहेको कृषि अर्थविज्ञ स्यामराज जोशीले जानकारी दिनुभयो।
दार्चुलाका अधिकांश क्षेत्रमा आकाशेपानीमा भर पर्नुपर्ने भएकाले उत्पादनमा सधैं प्रभाव पर्ने गरेको स्थानीय किसानहरूको भनाइ छ।
