दार्चुला — हमास आक्रमणमा परि मृत्यु भएका नेपालीहरूको परिवारसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले भेटघाट गरेका छन्। मंगलवार दार्चुला पुगेका राजदूत बासले बुधवार मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका मृतक लोकेन्द्र सिंह धामीका परिवारसँग भेट गरेका हुन्।

परिवारसँगको भेटमा राजदूत बासले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै धामीको पारिवारिक अवस्था र व्यक्तिगत रुचिका विषयमा चासो देखाएका थिए। साथै, उनले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए।

त्यसैगरी, राजदूत बासले दार्चुलाको लेकम गाउँपालिका–५ का दीपेश राज विष्टको परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। विष्टको परिवार हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१५, निम्बुखेडामा बसोबास गर्दै आएको छ। दार्चुलाबाट फर्केपछि बासले कञ्चनपुरमै उनीहरूसँग भेट्ने बताइएको छ।

२०८० असोज २० गते प्यालेस्टाइनी हमास समूहको आक्रमणमा दार्चुलाका धामी र विष्टसहित १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सोही आक्रमणमा कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय