
डडेल्धुरा — ‘मिस पबी’ उपनामले सामाजिक सञ्जालमा परिचित पवित्रा साकीले पहिलोपटक आफ्नो वैवाहिक जीवनबारे खुलेर बोलेकी छन्। १६ वर्षको कलिलो उमेरमा विवाह, त्यसपछि भएक डिभोर्स र त्यसले पारेको मानसिक असरबारे उनले युट्युब च्यानल ‘रमाइलो छ’ सँगको अन्तरवार्तामा भावुक हुँदै अनुभव साझा गरेकी हुन्।
केही वर्षदेखि उनको वैयक्तिक जीवनबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा र तस्वीरहरू बाहिर आउँदा समेत उनले विवाहको कुरा अस्वीकार गर्दै आएकी थिइन्। यद्यपि, अन्ततः उनले आफैँले विगत स्वीकार गरेकी हुन्।
“म १६ वर्षकी हुँदा विवाह भएको थियो,” उनले भनिन्, “तर कानूनीरूपमा त्यो मान्य थिएन, दर्ता पनि भएको थिएन। अहिले म २५ वर्षकी भएँ, धेरै कुरा बुझ्न थालेकी छु।”
उनले विवाहपछि केही समयमै डिभोर्स भएको र त्यसपछि मानसिक पीडाले आफूलाई थिचेको अनुभव सुनाइन्। “कतिपटक त सुसाइड गर्नेसम्मको अवस्था आयो,” उनले भनिन्, “तर मेरी आमाले साथ दिनुभयो।”
डिभोर्सपछि समाजबाट पाएको व्यवहारबारे बोल्दै उनले भनिन्, “स्कुलमा साथीहरू थिएनन्, समाजमा डिभोर्स भएको केटीलाई नराम्रो नजरले हेरिन्थ्यो। कसैले फ्रेन्डसिप गर्न पनि चाहँदैनथे।”
उनले पछिल्लो समय कलाकार पवन खतिवडा म्याकुरीसँग ‘कमेडी दरबार’मा सहकार्य गरिरहेकी छन्, जसले उनलाई पुनः आत्मविश्वास दिलाएको संकेत उनले अन्तरवार्तामा दिएकी थिइन्।
“विगतमा मलाई कुनै रिग्रेट छैन,” उनले अन्त्यमा भनिन्, “डिभोर्स भएको भनेर त्यहीँ रोइरहनु हुँदैन, अगाडि बढ्नुपर्छ भन्ने पाठ मैले सिकेँ।