दार्चुला — दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गत महाकाली नदी किनारमा भारतले बलपूर्वक तटबन्ध निर्माण गरिरहेकामा आपत्ति जनाउँदै नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले उक्त कार्य रोक्न सरकारसँग माग गरेको छ।
एमालेले शनिबार प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्र मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा छिमेकी मुलुक भारतले एकतर्फी रूपमा नेपाली भूभाग अतिक्रमण गर्दै तटबन्ध निर्माण गरिरहँदा नेपाल सरकार मौन बसेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
“छिमेकी मुलुकको बलमिच्याइँ र अतिक्रमणकारी प्रवृत्तिको विरोध गर्ने ठाउँमा सरकारको मौनता दुर्भाग्यपूर्ण, लाजमर्दो र दार्चुलावासी जनताको भावनामा चोट पुर्याउने खालको छ,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
एमाले जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीका अनुसार, भारतले महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको क्षेत्रमा अन्तर्राष्ट्रिय सिमाना मिच्दै तटबन्ध बनाइरहेको छ। सो क्षेत्रमा स्थानीय नागरिकहरूको लालपुर्जा भएको जग्गा र सरकारी निकायको जमिन समेत परेको भन्दै उनले निर्माण कार्य तत्काल रोक्नुपर्ने आवश्यकता औंल्याएका छन्।
महाकाली नदी नियन्त्रण आयोजनालाई विघटन गरी कार्यालय बैतडीको पाटनमा स्थानान्तरण गरिएपछि सीमावर्ती क्षेत्रमा भइरहेका गतिविधिबारे अध्ययन, समन्वय र जानकारी प्रवाहको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह हुन नसकेको पनि एमालेको भनाइ छ।
“दुवै देशका संयुक्त नापी र प्राविधिक टोली खटाएर क्षेत्र निर्धारण नगरुन्जेल कुनै पनि निर्माण कार्य अघि नबढाउन सरकारसँग हार्दिक अनुरोध गर्दछौं,” एमालेको ज्ञापनपत्रमा भनिएको छ।
यदि समयमै आवश्यक पहल नगरिएमा थप आन्दोलनात्मक कार्यक्रम घोषणा गरिने चेतावनीसहित एमालेले परराष्ट्र मन्त्रीको नाममा ज्ञापनपत्र बुझाएको हो।

